काठमाण्डु – नेपाली सेनाले काठमाण्डु–तराई द्रुतमार्ग सडक आयोजनाको प्रगति विवरण सार्वजनिक गरेको छ ।
लामो समयदेखी विभिन्न कारणले निर्माणमा ढिलाइ भइरहेको अवस्थामा सेनाको टोलीले उक्त आयोजनालाई तिव्रताका साथ अगाडि बढाएको छ . ७२.५ कि.मी. लामो यो आयोजना बागमती र नम्बर २ प्रदेशका चारवटा जिल्लाहरु (ललितपुर–काठमाण्डु–मकवानपुर–बारा) हुँदै निजगढसम्म रहेको छ ।
०७४ बैशाख २१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार यो आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनाले पाएको थियो । २०७६ भदौ १ गतेको सरकारको निर्णयबाट परियोजनाको डिपिआर स्वीकृत भएको थियो ।
डिपिआरअनुसार अनुमानित लागत १७५ अर्ब रहेको यस द्रुतमार्ग आयोजनाको निर्माण कार्य आ.ब.०८०/८१ मा सम्पन्न गर्ने लक्ष्य राखी तदारुकताका साथ निर्माण कार्य भइरहेको छ ।
यस आयोजनामा हाल छैठौ चरणमा काम चलिरहेको छ । समष्टिगत कार्य विवरण अनुसार गत आ.ब. को वार्षिक प्रगति भौतिक तर्फ ४२.८५ प्रतिशत र वित्तिय तर्फ ४२. ८० प्रतिशत रहेको तथा समष्टिगत प्रगति भौतिक तर्फ ११.११ प्रतिशत रहेको छ भने वित्तिय तर्फ ९.५२ प्रतिशत रहेको छ ।
यस आयोजनाको वित्तीय प्रगति विवरण अनुसार पौष मसान्तसम्मको कुल वित्तिय खर्च १७ अर्व ८३ करोड रहेको सेनाले जनाएको छ ।

काठमाण्डु–तराई/मधेश द्रुतमार्ग सडक खण्ड आयोजनाको कुल लम्वाई ७२.५ कि.मी. मध्ये ३ वटा सुरुङ्ग मार्गको जम्मा लम्बाई ६.४१ कि.मी., विभिन्न पुलहरुको लम्बाई १०.५९ कि.मी. र ढुङ्गा माटोको कट/फेल गर्नुपर्ने सडक खण्डको लम्बाई ५५.५ कि.मी.रहेको सेनाले जनाएको छ ।
जस अन्तरगत आयोजनाको ४४.१ कि.मी. सडक खण्डको सव–ग्रेड लेभल सम्म तयार गर्न समष्टिगत माटो काट्ने/पुर्ने कार्यहरु हालसम्म ८८ प्रतिशत सम्पन्न भएको छ । यस्तै २०७७/७८ को आयोजनाको कुल कार्य अंशको थप ५.१०५ काम सम्पन्न गराई आयोजनाको कुल कार्यको १६.२१५ प्रगति हासिल गर्ने लक्ष सेनाले राखेको छ ।

साथै सुरुङ्ग निर्माण सम्बन्धी जिओटेक्निकल तथा जिओफिजिकल इन्भेस्टिगेसन कार्यको लागि राष्ट्रिय परामर्शदाता छनौट भई कार्य सुचारु गरिएकोमा जिओेफिजिकल कार्य सम्पन्न भई फाइनल रिपोर्ट प्राप्त भएको सेनाले जनाएको छ । जिओपिजिकल इन्भेस्टिकेसन अन्तर्गत महादेवटार (९), धेद्रे (५) र लेनडांडा (४) गरी कुल १८ गोटा बोर होल ड्रिलिङ गर्ने कार्य सम्पन्न हुनुका साथै, लग स्याम्पलहरुको टेस्ट रिजल्ट आउने क्रममा रहेको छ भने अन्तर्राष्ट्रिय परामर्शदाताको परामर्श अनुसार थप ड्रिलिङ तथा टेस्ट गर्ने कार्य भईरहेको बताइएकाे छ ।
सुरुङ्ग मार्ग निर्माण कार्यको लागि अन्तर्राष्ट्रिय परामर्शदाता योसिन जेभीद्वारा सुरुङ्ग मार्ग प्याकेजको निर्माण कार्यको लागि आवश्यक विड डकुमेन्ट तयार गरी बोलपत्र आव्हान गर्ने कार्य अन्तिम चरणमा रहेको सेनाले जनाएको छ ।
कोरोना भाइरस महामारीका कारण आयोजना निर्माणमा केही प्रभाव परेको सेनाले जनाएको छ । हाल विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना को प्रभावको कारण आयोजना निर्माण कार्यमा चुनौती थपिएको छ । गत आ.ब.को लक्ष्य अनुरुपको कार्य प्रगति समेत प्रभावित भएको हो ।
तर, पनि सरकारबाट नेपाली सेनालाई प्राप्त जिम्मेवारी अनुरुप राष्ट्रको विकास र समृद्धिको लागि कोशेढुङ्गा सावित हुने राष्ट्रिय गौरवको यस काठमाण्डु–तराई/मधेश द्रुतमार्ग सडक आयोजना पारदर्शी एवं गुणस्तरीय रुपमा लक्षित समयमै सम्पन्न गर्ने गरी समष्टिगत कार्य योजना अनुसार हालको विश्वव्यापी कोरोना महामारी लगायत विभिन्न चुनौतीको बाबजुद आयोजना निर्माण कार्यलाई तदारुकताका साथ अगाडि बढाइएको सेनाले जनाएको छ ।






प्रतिक्रिया