केपी ओलीको पार्टी ‘डुप्लिकेट’ हो, त्यहाँ अन्धकार मात्रै छः माधव नेपाल

केपी ओलीको पार्टी ‘डुप्लिकेट’ हो, त्यहाँ अन्धकार मात्रै छः माधव नेपाल


काठमाण्डु – नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीको पार्टीमा गएका नेता तथा कार्यकर्तालाई फर्किन आग्रह गरेका छन् ।

शनिबार धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओली नेतृत्वको पार्टी ‘डुप्लिकेट’ भएको बताउँदै उक्त पार्टीबाट सबैलाई फिर्ता आउन भनेका हुन् । उनले ओलीले सय जना केन्द्रीय सदस्य लिएर डुप्लिकेट पार्टी चलाइरहेको  आरोप लगाए।

‘हामीले निर्वाचन आयोगलाई सबै सदस्यलाई बोलाएर सोध्न भनेका छौँ । जहाँ ४४० को बहमत जहाँ हुन्छ त्यही पार्टी आधिकारिक हुन्छ, ४४० मध्ये ३ सय हामीसँग छन्, ओलीसँग सय जना पनि पुग्दैनन्,’ उनले भने, ‘सय जना पनि नभएको पार्टी ओर्जिनल हुन्छ कि डुप्लिकेट ? । केपी ओलीको पार्टी डुप्लिकेट पार्टी हो, त्यहाँ कोही जानुभएको छ भने फर्किहाल्नुहोस्, त्यहाँ अन्धकार मात्रै छ ।’

अध्यक्ष बहुमत भएकै पक्षमा सूर्य चिन्ह हुने भन्दै सूर्य चिन्ह आफ्नो पक्षले आउनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गरे । उनले ओलीको चरित्र कम्युनिस्ट नभएको र उनी कम्युनिस्ट सक्ने अभियानमा सक्रिय भएको आरोप लगाए ।

ओलीलाई दुर्योधनको शंज्ञा दिँदै नेपालले कौरवको विनाश दुर्योधनको अहंकारका कारण भए झैँ ओलीको अहंकारका कारण उनको र उनका मतियारहरूको पतन निश्चित रहेको बताए ।

ओलीले नियुक्त गरेका केन्द्रीय सदस्यहरुप्रति टिप्पणी गर्दै नेपालले भने, ‘केपी ओलीका म्यादी केन्द्रीय सदस्यहरूलाई मास्क लगाएर लाज छोप्न सक्ने अवस्था छैन्, उनीहरुलाई बुर्का लगाई दिनुहोला ।’

नेपालले ओलीले चुनाव गराएर प्रजातन्त्र बलियो बनाउलान् भन्ने भ्रमबाट मुक्त हुन आग्रह पनि गरे । नेपालले अगाडि थपे, ‘केपी ओली कहिल्यै पनि गणतन्त्रको पक्षमा भएनन् । ओलीले चुनाव गराउलान् र प्रजातन्त्र बलियो होला भन्ने सोच्नुभएको छ भने भ्रमबाट मुक्त हुनुहोस् ।’