महानवमीमा मात्र खुला हुने तलेजु भवानी मन्दिर, भोलि बिहान ५ बजेदेखि दर्शन गर्न पाइने

महानवमीमा मात्र खुला हुने तलेजु भवानी मन्दिर, भोलि बिहान ५ बजेदेखि दर्शन गर्न पाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर कात्तिक ३ गते मंगलबार बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

मन्दिर प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र सर्वसाधारण भक्तजनका लागि खुला गरिने परम्परा रही आएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाले सोमबार आयोजना गरेको सरोकार भएका निकायसँगका छलफलका क्रममा बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म तलेजु भवानी मन्दिर सर्वसाधारणलाई पूजा, आराधना एवं दर्शनका लागि खुला गरिने निर्णय भएको दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिइन् ।

प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने तलेजु भवानी मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ । 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार तुलजा भवानीलाई गत असोज ३१ गते शनिबार बिहान ०७:३७ बजे हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको छ । तुलजा भवानीलाई त्यसै दिन बिहान १०:३९ बजेको साइतमा स्थिरासनमा राखिएको थियो ।

तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमी सोमबार राति कालरात्रि पूजा गरिँदैछ । कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित आराधना गरिने पनि हेरचाह अड्डाले जनाएको छ ।

विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ । कात्तिक ४ गते बुधबार विजयादशमीका दिन बिहान समितिले दिएको साइतअनुसार बिहान १०:५१ बजे यात्रा गराइने छ । त्यसै दिन बिहान ११:५२ बजे तलेजु भवानीलाई मूल मन्दिरमा स्थिरासन गराइनेछ ।