कोभिडको खोप लगाएका व्यक्तिबाट अन्यलाई भाइरस सर्न सक्ने, सतर्क रहन विज्ञको आग्रह

कोभिडको खोप लगाएका व्यक्तिबाट अन्यलाई भाइरस सर्न सक्ने, सतर्क रहन विज्ञको आग्रह


काठमाण्डु – कोभिड–१९ विरुद्धको खोप लिएको व्यक्तिबाट अन्य व्यक्तिलाई भाइरस सर्न सक्ने भन्दै सतर्क रहन विज्ञहरुले आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाले कोभिड–१९ विरुद्धको खोप लिइसकेको व्यक्तिबाट पनि अन्यलाई भाइरस सर्न सक्ने भन्दै सतर्क रहन सुझाब दिएका हुन् ।

हालसम्म कुनै पनि खोपको प्रभावकारिता शत्प्रतिशत नदेखिएकाले खोप लगाइसकेपछि पनि संक्रमण हुँदैन वा आफूबाट अरुलाई सर्दैन भन्नेमा ग्यारेन्टी नहुने उनको भनाइ छ ।

खोपको दुबै मात्रा प्राप्त गरेका व्यक्तिलाई पनि पुनः संक्रमण भएको देखिएकाले स्वास्थ्य सावधानी अपनाउनुको विकल्प नभएको डा सापकोटाले बताए ।

कोरोनाबाट विदेशमा थप तीन नेपालीको मृत्यु

यसैबीच कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ ।

संघका अनुसार यो साता युकेमा ३ जनाको संक्रमणका कारण निधन भएको हो । यो सहित विदेशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको संख्या ३ सय ३० जना पुगेको छ ।

स्वास्थ्य समितिका संयोजक सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ६ सय ९५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५५ हजार ७ सय ९३ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत हो ।

संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा २ हजार २७ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७० हजार ८ सय ५४ जना छ भने २ लाख ६६ हजार ४८ जना अर्थात ९८।२ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

स्वास्थ्य समितिले खोप साक्षरता सम्बन्धी निर्देशिका जारी गरेको छ । आम नेपालीलाई खोपको बारेमा सचेत र सतर्क बनाउने उद्देश्यका साथ जारी यो निर्देशिका सबैले बुझ्ने गरी सरल नेपाली भाषामा छ ।

सो निर्देशिकामा खोप, खोप लगाउँदा, लगाइसकेपछि अपनाउनुपर्ने सावधानी, खोप लगाइसकेपछि देखिनसक्ने सम्भावित असर वा स्वास्थ्य समस्या र त्यसपछिको स्वास्थ्य मापदण्ड लगायतका विषयहरु समेटिएका छन् ।

यसैबीच स्वास्थ्य समितिले छिट्टै स्वास्थ्य सम्बन्धि एक सचेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। त्यसको आवश्यक तयारी र लक्षित समूह पहिचानको काम भइरहेको छ ।