काठमाण्डु – संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दाहरुमा अहिले बहस भइरहेको छ ।
आइतबारको बहसमा रिट निवेदकसमेत रहेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले प्रधानम्त्री केपी शर्मा ओलीले भनेझै संसद विघटन गरेर जनादेशमा जानुपर्ने स्थिती नआएको बताएका छन् ।
ताजा जनादेशमा जानका लागि विषय चाहिने भन्दै अधिवक्ता पौडेलले प्रधानमन्त्रीलाई कसले असहयोग गर्यो भन्दै प्रश्न गरेका छन् ।
उनले भनेका छन्, ‘ताजा जनादेशमा जान विषय चाहिन्छ । भारतले सीमा अतिक्रमण गर्यो भनेर जाने कि ? भारतसँग युद्ध लड्नुपर्ने भएको हो र ताजा जनादेशमा जाने ?’, उनले भने, ‘प्रधानमन्त्रीलाई कसले असहयोग गर्यो ? सेनाले असहयोग गर्यो ? ब्युरोकेसीले असहयोग गर्यो कि ? दलको कुरालाई लिएर प्रधानमन्त्रीले संसदमाथि छलकपट गर्नुभयो, जालसाझी गर्नुभयो ।’
त्यस्तै अर्का अधिवक्ता लोकेन्द्र बहादुर ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक रहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि पनि प्रश्न उठाए ।
‘असंवैधानिक कदम स्वीकृत गर्ने राष्ट्रपति संविधानभन्दा माथि हो ? गैर कानुनी कदम स्वीकृत गर्नु त्यो भन्दा ठूलो भूल हो’ उनले इजलास समक्ष भने ।
उनले प्रधानमन्त्री ओलीले विश्वासको मत लिएको भए राम्रो हुने समेत बताए ।




प्रतिक्रिया