प्रचण्ड–माधव समूहको धर्ना कार्यक्रम सकियो, केन्द्रीय कमिटीको बैठक आह्वान

प्रचण्ड–माधव समूहको धर्ना कार्यक्रम सकियो, केन्द्रीय कमिटीको बैठक आह्वान


काठमाण्डु – नेकपाको प्रचण्ड–माधव समूहले माइतीघरमा भइरहेको सांसदहरुको धर्ना कार्यक्रम छोट्याएको छ ।

प्रतिनिधिसभा विघटनको विरोधमा तेस्रो चरणको आन्दोलन अन्तर्गत माघ १४ देखि २१ गतेसम्म सांसदहरूको धर्ना कार्यक्रम राखेको प्रचण्ड–नेपाल समूहले तीन दिनअगावै सो धर्ना कार्यक्रम समापन गरेको हो ।

नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसालले आन्दोलनका आगामी कार्यक्रममा केन्द्रित हुनु परेको भन्दै धर्ना कार्यक्रम स्थगित भएको जानकारी गराएकी हुन् । साथै प्रचण्ड–नेपाल समूहले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

बैठक भोलि, सोमबार बिहान ११ बजे कार्की ब्यांक्वेटमा बस्ने केन्द्रीय सदस्य श्रीराम ढकालले जानकारी दिए । संसद विघटनविरुद्ध संघर्ष गरिरहेको यो समूहले अहिलेसम्मको आन्दोलनको समीक्षा र भावी कार्यक्रमका विषयमा केन्द्रीय कमिटीमा छलफल गर्ने जनाएको छ ।

माघ ९ गते काठमाण्डुमा जनसभा गरेको प्रचण्ड–माधव पक्षले फेरि माघ २८ गते काठमाण्डुमै सभा गर्ने तय गरिसकेको छ । यो समूहले यसअघि बुटवल, विराटनगर र धनगढीमा जनप्रदर्शन गरिसकेको छ ।