जनयुद्ध लडेर आएका सहकर्मीलाई नै ‘दलाल’ भन्ने प्रचण्ड कसरी महान नेता ?

जनयुद्ध लडेर आएका सहकर्मीलाई नै ‘दलाल’ भन्ने प्रचण्ड कसरी महान नेता ?

तस्बीर: भोजराज भाट

काठमाण्डु – पछिल्लो समय उद्योगमन्त्री लेखराज भट्टमाथि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रुष्ट हुँदै आइरहेका छन् ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि कित्ता परिवर्तन गरेका भट्टमाथि शनिबार उनकै गृहजिल्ला कैलाली पुगेर प्रचण्डले आक्रोश पोखे । वि.सं २०३८ सालबाट प्रचण्डसँग नजिक रहेका भट्ट संसद विघटनसँगै ओली समूहका लागेका छन् ।

अध्यक्ष प्रचण्डले आफूले हुर्काएर मन्त्री बनाएको मान्छे ओलीको वरिपरि घुम्ने भएको भन्दै नेता भट्टलाई दलालको पनि दलाल भएको आरोप लगाए ।

‘मैले नै हुर्काएर मन्त्री बनाएको मान्छे, मैले पनि सुदूरपश्चिमको नायक भन्थेँ । तर, कता हो कता सोच्नै नसक्ने गरी गए । अब उनी केपीको वरिपरि घुम्ने भए, केपी ओली आफैँ दलाल हुन्, उनी दलालको पनि दलाल भए,’ प्रचण्डले भने, ‘पत्याइनसक्नु भयो । दुईचार रात त टेन्सनै भएको थियो । तर ९५ प्रतिशत सुदूरपश्चिमका जनता हिलेका छैनन् । उनीहरुले दलालको भण्डाफोर गरेका छन् । गर्वले मेरो छाती फुलेको छ । तपाईंहरुलाई धन्यवाद । मरो छाती चौडा बनाइदिनुभयो ।’

आफूसँगै जनयुद्ध लडेका भट्टलाई दलाल भनेका प्रचण्डको चौतर्फी विरोध भइरहेको छ । भट्टले गुट परिवर्तन गरेकै कारणले दलालको उपाधि पाएको भन्दै प्रचण्डको आलोचना भएको हो । २०३८ सालमा प्रचण्डलाई पेस्तोल उपहार दिएरभट्ट चर्चामा आएका थिए ।

भारतको गोरखपुरमा ०३८ सालमा युवक संगठनको भेला हुँदै थियो । संगठनका केन्द्रीय अध्यक्ष प्रचण्ड थिए । भेलामा केन्द्रीय सदस्य भट्टले प्रचण्डलाई ‘जनयुद्धको सफलताका लागि’ एउटा पेस्तोल उपहार दिए । त्यही बेलादेखि प्रचण्ड र लेखराज नजिकिएका थिए ।

राजतन्त्रलाई समाप्त र गणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ ०५२ फागुन १ गतेबाट विधिवत रुपमा जनयुद्ध सुरु भयो । जनयुद्धदेखि शान्ति प्रक्रियासम्मको समयमा भट्टले थुप्रै योगदान दिएका छन् । देशको शासन व्यवस्था परिवर्तनका लागि लडेका योद्धाहरुमाथि नै ‘दलाल’ को संज्ञा दिँदै हिँड्ने प्रचण्डको अभिव्यक्तिबारे स्वयं माओवादीकै नेताहरुले असन्तुष्टी जनाइरहेका छन् ।

प्रचण्डले हुर्काएको भनिएका धेरै नेताहरु अहिले उनको साथमा छैनन् । प्रचण्डसँग लामो समयदेखी सहकार्य गरेका मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, रामबहादुर थापा बादल , नेत्रविक्राम चन्द विप्लवलगायतका नेताहरुले उनको साथ छोडिसकेका छन् । आफूसँग हुँदा ‘नायका’ हुने र गुट परिवर्तन गर्नेबित्तिकै दलाल र गद्दार बनाएको भन्दै अहिले प्रचण्डको चर्को आलोचना भएको हो ।

प्रचण्डमाथि जनयुद्धका कमान्डरहरु वैद्य, विप्लव, बादल, भट्ट, मणि थापा, प्रभु शाह, टोपबहादुर रायमाझी लगायत धेरै नेताहरु र उनीहरुसंग जोडिएका जनमुक्ति सेना, सहिद परिवार, घाइते अपाङ्ग, बेपत्ता परिवार, युद्धमा लडेका नेता कार्यकर्ताहरुलाई गद्दार भनेको आरोप लाग्दै आइरहेको छ ।

‘प्रचण्ड तिमी कसरी महान बन्नसक्छौ, तिमीले जनयुद्ध भरी लिएको पैसा कता छ ? जनमुक्ति सेनाको नाममा लिएको करोडौं पैसा कता छ ? तिमीले बिदेशमा राखेको पैसा र नेपालमा कयौं दलालसंग लुकायको पैसा कहाँ छ ? तिमीले जनयुद्धमा गरेका बाचाकसम, सहिदका सपना, घाइते, अपांग, बेपत्ता परिवारको आसाभरोसामाथि घात गरेउ, अब तिमीसंग ३,४ जोडि स्वार्थी नेता र तिम्रा आसेपासे बाहेक अरु कोही छैन, जनयुद्ध र जनमुक्ति सेना बेचेर खाएको तिमी उरालो लाग्दा लाग्दा अब नाङ्गिन थालिसके छौं’, युवा संघका नेता नरेश रोकायाले भनेका छन्, ‘तिमीले लेखराजलाई हेपेको थाहा छैन र, सुपको भएकै कारण कति पटक पछाडी पारेको थियौ, जुनियरलाई अगाडि लग्यौ, लेखराजले अखण्ड सुदुरपश्चिमको लागि लडेको कारणले थारु बिरोधि हो भन्दै सिद्दाउन खौजाैं, आफ्नो स्वार्थ अनुसार चल्नेलाई नेता बनायौ, अरुलाई पार्टी छोड्न बाध्य पार्‍यौ, तिमी दलालको मात्र नेता हो, तिमीसंग इमान्दार र निष्ठावान नेता छैन, तिमीलाई दलालहरुले घेरेको छ, त्यसैले तिमीले सबैलाई दलाल देख्छौ, तिम्रो छोरी, बुहारी, तिम्रो ज्वाइ, भतिजो, तिम्रो गार्ड, तिम्रो आसेपासे सब दलाली गर्छन र तिमी पनि दलालि नै गर्छौ, त्यस कारण तिमी सबैलाई दलाल देख्छौ ।’

उनले प्रचण्डलाई यसो भनेः

सामाजिक संजालमा भेटिएका यी तस्बिरहरु र यो भनाइले साच्चिकै मनमा एउटा गम्भीर प्रश्न खडा गरेको छ। जनयुद्ध के साच्चिकै दलालहरुकै रोइलो थियो त प्रचण्ड कमरेडरु अध्यक्ष कमरेड प्रचण्ड २०३८ सालमा अत्तरिया स्थित लेखराज भट्टको निवासमा आउँदा लेखराज भट्टको आमाले सेवा गरेको बिर्सनुभयो ।

के आमा दलाल थिइन त ? लेखराज भट्टले पेस्तोल दिँदा के उहाँ दलाल हुनुहुन्थ्यो ? लेखराज भट्टले त्याग गरेर तपाइलाई सहयोग गर्दा उहाँ दलाल हुनुभयो ? लखनउमा बसको देखि रेलको टिकट काट्ने कमरेड निशा र राकेश दलाल भए ? तपाइका छोरीहरु चण्डिगढ, पञ्जाव र सिलुगुढिमा घरजम गराएर जनयुद्धको पैसा लिएर पाल्दा तिनको योगदान हुने ।

तपाइको कुन छोरी र ज्वाईंले जनयुद्धमा कहिले कुनदिन योगदान गरे ? तपाइंले आफ्नो परिवार जनयुद्धमा योगदान गरे लडे भन्नू भो ? कुनले कहिले कति योगदान गरे ? यदि तपाईं वास्तवमा साँचो बोल्नुहुन्छ भने तपाईका छोराछोरीको जनयुद्धमा कति योगदान छ त्यो खुलेर भन्ने आँट गर्नुस् ? छोरिहरुले बन्दुक बोकेको जनमुक्ति सेनाको जिम्मेवारी बहन गरेको प्रमाण सार्बजनिक गरेर देखाउनुस ?

तपाईं जनमुक्ति सेना बेच्ने, हतियार बेच्ने, एजेन्डा बेच्ने कसरी क्रान्तिकारी हुनुभयो कमरेड ? अरुलाई न्यायको कुरा गर्ने तपाईले बहुबिबाह गर्ने छोरालाई कहिले के कारबाही गर्नुभयो । बहुबिबाहलाई संविधानले मान्यता दिएको छ र कमरेड प्रचण्ड ? तपाईं अहिले असंवैधानिक कदम भनेर सडकमा आउनुभएको छ । अरुलाई नैतिकताको पाठ नपढाउनुस !

कसरी भाइरल भयो तस्बीर ?

अहिले मन्त्री भट्टले प्रचण्डलाई मोटरसाइकलमा बोकेर हिँडिरहेको तस्बीर भाइरल भइरहेको छ । ०६३ को असार पहिलो हप्ता डोटीको विपीनगर प्रशिक्षणपछि अत्तरियास्थित भट्टको घरमा आउँदै गर्दा भोजराज भाटले यो तस्बीर खिचेका थिए । शनिबार प्रचण्डले भाटलाई दलाल भनेपछि यो तस्बीर एकाएक भाइरल बनेको हो ।

अघिल्लो रात अर्कै घरमा प्रचण्डलाई सुरक्षित सेल्टरको व्यवस्था गरेका भट्टले विहानै आफ्नो मोटरसाइकलमा घरमा ल्याउँदै गर्दा आफूले उक्त तस्बीर क्यामरमा कैद गरेको भाटले जानकारी दिए ।