काठमाण्डु – नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई हिन्दु राज्य बनाउन खाजेको आरोप लगाएका छन् ।
आइतबार माइतीघर मण्डलामा आयोजित प्रतिनिधिसभा विघटनविरुद्धको धर्नालाई सम्बोधन गर्दै नेता पाण्डले सो बताएका हुन् ।
केही दिन पहिले पशुपतिनाथको पूजा गर्न गएको र शनिबार चितवनमा पुगेर राम मन्दिर बनाउने घोषणा गरेको भन्दै उनले प्रधानमन्त्री ओलीले माघ २३ गते हिन्दू राष्ट्र घोषणा गर्न सक्ने समेत दाबी गरेका छन् ।
‘यही २३ गते नै ओलीले हिन्दू राष्ट्र घोषणा गर्छन भन्ने चर्चा चल्दैछ । ओलीले यो गर्न सक्छन्,’ उनले भने, ‘अब ओली कम्युनिस्ट आन्दोलन अगाडि बढाउन होइन, नयाँ मठाधीश बनेर धर्मको कुरा गरेर जनतालाई अलमल्याउन सकिन्छ भनेर कुचेष्टा गरिरहेका छन् ।’
प्रतिनिधिसभा विघटन भएपछि विभाजित नेकपाको ओली समूहले २३ माघमा काठमाण्डुमा वृहत आमसभाको तयारी गर्दै गर्दा पाण्डेले यस्तो बताएका हुन् ।
ओलीको कदमले दक्षिणपन्थी खुशी भएको र २३ गतेको आमसभामा राजावादीहरू सहभागी उनको दाबी छ ।
‘ओलीको कदमले दक्षिणपन्थी खुशी भएका छन्,’ पाण्डेले भने, ‘उनीहरू ओलीजस्ता राजनेता कोही छैनन् भन्दै छन् । हिजो ऋषि देवकोटा ‘आजाद’ को हत्या गर्नेहरु नै ओलीको प्रशंसा गरिरहेका छन् । मैले सुनेको हुँ, २३ गतेको कार्यक्रममा राजावादीहरू पनि उर्दी जारी गरेर सहभागी हुँदैछन् ।’
ओलीले झ्यालको बाटो छाडी भीरको बाटो हिँडेर प्रतिनिधिसभा विघटन गरेको पाण्डेको टिप्पणी छ ।




प्रतिक्रिया