म्यानमारको सत्ता प्रधानसेनापतिको हातमा, आङसाङ सुकी पक्राउ

म्यानमारको सत्ता प्रधानसेनापतिको हातमा, आङसाङ सुकी पक्राउ


एजेन्सी – म्यानमारको सेनाले आङसाङ सुकीलाई हिरासतमा लिएको छ । म्यानमारको सेनाले नेसनल लीग फर डेमोक्रेसी पार्टीका सर्वोच्च नेतृ आंग सान सुकीलाई गिरफ्तार गरेको हो ।

सेनाको स्वामित्वमा रहेको टेलिभिजन स्टेशनमा गरिएको विज्ञप्ति अनुसार म्यानमारको सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको छ । सुकीको हातबाट सत्ता खोसेर सेनाले प्रधानसेनापति मीन आंग हलाइङलाई हस्तान्तरण गरेको छ ।

हालसालै सम्पन्न भएको चुनावको नतीजालाई लिएर सरकार र सेनाबीच तनाव कायमै थियो । नोभेम्बरमा सम्पन्न नेसनल लीग फर डेमोक्रेसी पार्टीले ठूलो अन्तरले विजयी हासिल गरेको थियो । तर सेनाले चुनावी प्रक्रियामा धाँधली भएको दाबी गरेको छ । सेनाले सोमबारको संसद बैठक स्थगित गर्न आह्वान गरेको छ।

नेशनल लीग फर डेमोक्रेसी पार्टीका प्रवक्ताले समाचार एजेन्सी रोयटर्सलाई भने, ‘सुकी, राष्ट्रपति विन म्यान्ट र अन्य नेताहरूलाई बिहानै हिरासतमा लिएको थियो ।’

आफ्ना समर्थकहरू र सर्वसाधारण जनताको क्रोधलाई ध्यानमा राख्न आग्रह गर्दै उनले भनेका छन्, ‘म हाम्रा शुभचिन्तकहरूलाई हतारमा काम नगर्न र कानून बमोजिम हिंड्न आग्रह गर्दछु ।’

यस संविधान अन्तर्गत, सेनालाई आपतकालिन अवस्था घोषणा गर्ने अधिकार छ । तर, सुकी जस्ता नेताहरूलाई पक्राउ गर्नु खतरनाक र उत्तेजक कदम हुन सक्छ, जुन कडा विपक्षमा रहेको बताइएको छ । हाल राजधानीमा टेलिफोन र इन्टरनेट सेवा कटौती गरिएको छ ।