पथरी- तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे गोल्डकपको उद्घाटन खेलमा आयोजक पथरी ११ सडन डेथमा पराजित भएको छ। भारतीय टोली युकेएफसीले टाइब्रेकरमा ४–३ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो।
निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न सकेनन्। गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा पुगेको थियो। त्यहाँ पनि दुवै टोलीले चार–चार गोल गरेपछि खेलको निर्णय सडन डेथबाट गरिएको थियो।
पथरी ११ का सुवास तामाङ, धिरेन क्षेत्री, मन्जिल खड्का र सौरज राउतले टाइब्रेकरमा गोल गरे। युकेएफसीका वीरेन प्रधान, सिद्धान्त क्षेत्री, सिर्जल राई र सदिस राईले गोल गरे।
सडन डेथमा युकेएफसीका आकाश प्रधान, नयन प्रधान, राजीव क्षेत्री र राज रोथले गोल गरे। पथरी ११ का निरज परियार, सञ्जय लिङ्देन र युकेश तामाङले गोल गरे। त्यसपछि आयोजकका मनिष लामाको प्रहार युकेएफसीका गोलरक्षक सचिन गुरुङले रोके। यही बचाउसँगै युकेएफसीको जित पक्का भयो।
निर्णायक बचाउ गरेका गुरुङ उद्घाटन खेलको म्यान अफ द म्याच घोषित भए। उनले सात हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गरे।
गत संस्करणको उपविजेता पथरी ११ लाई हराउँदै युकेएफसीले प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। खेल संयोजक सुमन बिकका अनुसार आइतबार गत संस्करणको विजेता सिराहाको सलहेस फुटबल क्लब र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ।
तस्बिर सौजन्य: गोल नेपाल




प्रतिक्रिया