म्यानमारकी नेतृ सुचीलाई रिहा गर्न देउवाको आग्रह

म्यानमारकी नेतृ सुचीलाई रिहा गर्न देउवाको आग्रह


काठमाण्डु – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले म्यानमारकी नेतृ आङ सान सुचीलाई तत्काल रिहा गर्न आग्रह गरेका छन् । सभापति देउवाले सोमबार ट्वीटरमार्फत नेतृ सुचीलाई रिहा गर्न म्यानमारको सेनालाई आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, ‘आङ सान सूचीलाई तत्काल रिहा गर्नुका साथै निर्वाचित सरकार पुनर्स्थापना गर्न नेपाली काँग्रेस म्यानमारको सेनालाई आग्रह गर्दछ ।’

म्यानमारको सेनाले सोमबार बिहान म्यानमारका राष्ट्रपति वुइन मिन्ट, नेतृ आङ सान सुचीलगायतका शीर्ष राजनीतिक दल र सरकारी अधिकारीहरुलाई गिरफ्तार गरेको छ ।

निर्वाचनपछिको पहिलो संसद् बैठक बस्नुअघि सोमबार बिहान सेनाले सुचीसहितका नेताहरुलाई गिरफ्तार गरेको हो । साथै सेनाले सैन्य कू गरि निर्वाचति सरकार अपदस्थ गरेको छ । सरकार असफल भएपछि एक वर्षका लागि संकटकाल लगाइएको म्यानमारको सेनाले जनाएको छ ।