म्यानमारमा रहेका नेपालीलाई दूतावासले भन्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनू

म्यानमारमा रहेका नेपालीलाई दूतावासले भन्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – म्यानमारमा रहेका नेपालीलाई अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन म्यानमारस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।

सोमबारदेखि त्यहाँको सेनाले सत्ता कब्जा गरी एक वर्षका लागि संकटकाल लगाएपछि म्यानमारको परिस्थिति यतिबेला जोखिमपूर्ण रहेको भन्दै दूतावासले सावधानी अपनाउन आग्रह गरेको हो ।

म्यानमारमा उत्पन्न पछिल्लो राजनीतिक घटनाक्रमले जुलुस, र्‍याली हुन सक्ने भन्दै आवश्यक कामबाहेक घरबाहिर ननिस्कन दूतावासले आग्रह गरेको छ ।

‘म्यानमारको राजनीतिक घटनाक्रमले जुलुस, र्‍याली हुन सक्छ । सञ्चार बन्द हुन सक्छ । घरबाहिर निस्किँदा सावधान रहनुहोला । आवश्यक कामबाहेक घरबाहिर ननिस्किनुहोला,’ दूतावासले भनेको छ, ‘छरछिमेकमा हुने घटनाबारे जानकारी राख्नुहोला । घरमा कम्तीमा १० दिनको खाद्यवस्तु सञ्चित राख्नुहोला ।’

त्यहाँको सेनाले सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुची र राष्ट्रपति विन मिन्टसहित प्रदेशका प्रमुखहरूलाई नियन्त्रणमा लिएको छ ।

त्यहाँ रहेका बीबीसीका नेपाली पत्रकार दीपक भट्टराईका अनुसार त्यहाँको सैनिक सरकारले निर्वाचन आयोग नयाँ बनाउने समेत घोषणा गरेको छ ।

त्यस्तै त्यहाँको सैनिक सरकारले राति नै पुराना २४ मन्त्रीलाई हटाई ११ मन्त्री थपेको छ । नयाँ मन्त्री सेनाका पूर्वजनरल, कोलनल र केही पदमै भएका छन् भने परराष्ट्र तीनवटा भएका छन् ।