ओली निकट नेताले भनेः बागमती प्रदेशसभा विघटन हुन सक्छ

ओली निकट नेताले भनेः बागमती प्रदेशसभा विघटन हुन सक्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बागमती प्रदेश सभा सदस्य सरेश नेपालले प्रदेश सरकार विघटन हुनसक्ने संकेत गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली खेमाका नेता नेपालले मंगलबार सामाजिक सञ्जालमार्फत प्रदेश सभाको प्राङ्गणमा देखिएको तमासाको कारणले संसद विघटन गर्न बाध्यात्मक स्थिति आउनसक्ने उल्लेख गरेका हुन् ।

उनले मुख्यमन्त्रि डोरमणी पौडेलविरुद्धको अविश्वासको प्रस्तावको विषयमा छलफल गर्नका लागि संसद बैठक स्थगन गरिएको बताएका छन ।

‘यो तमासा बागमती प्रदेश सभाको प्राङ्गणमा देखियो, अस्थिरता निम्त्याएर संसद विघटन गर्न बाध्य बनाउने परिस्थिति निर्माण गर्ने काम सबैतिर बढ्दैछ, मुख्यमन्त्री डोरमणि पौड्यालविरुद्व अविश्वास प्रस्ताव पेश भएपछि त्यसमा छलफल गरी निकासको बाटो खोज्न सभामुखले केही दिन बैठक स्थगन गर्नुभएको थियो,’ सांसद नेपालले भनेका छन् ।

उनले अविश्वासको प्रस्तावमा कांग्रेस मौन बसेको अवस्थामा संसद विघटन हुनसक्ने तर्क राखेका छन् । ‘नेपाली कांग्रेसले साथ नदिँदा अविश्वास प्रस्ताव पारित नहुने र सरकारलाई विश्वासको आवश्यक मतको लागि पनि कांग्रेसको सहयोग चाहिने भएकोले उसले समय मागेर पार्टीबाट निर्णय गराउन खोजेकै कारण बैठक स्थगन गरेको बताइन्छ,’ उनले लेखेका छन्, ‘यदी कांग्रेस मौन बस्यो भने संसद विघटनको बाटोमा जान सक्छ ।’

प्रचण्ड–माधव नेपाल गुटले अनैतिकताको हद नाघेको उनले उल्लेख गरेका छन् । ‘अनैतिकताको हद कसरी नाघ्दैछ प्रचण्ड–माधव गुट भन्ने उदाहरण उसले पेश गरेको अविश्वास प्रस्तावको व्यहोराले बताउँछ । उक्त गुटका तत्कालिन मन्त्रीहरूको जिम्मामा रहेको मन्त्रालय भित्रका बेथिति, भ्रष्टाचार र अकर्मण्यताका दोष मुख्यमन्त्रीलाई थोपरिएको छ,’ उनले लेखेका छन् ।

प्रतिनिधि सभा विघटन नगरेको भए बागमती प्रदेशकै हालत संघीय सरकार जाने उनले बताएका छन् । निर्वाचनमा जानै पर्ने सन्देश बागमती प्रदेश सरकारमा भएको अवरोधको कारणले नै प्रष्ट हुने उनले बताएका छन् ।

सोमबार बस्ने भनिएको बागमती प्रदेशसभा बैठक स्थगनपछि नेपाल प्रचण्ड–माधव समूहका प्रदेशसभा सदस्य आन्दोलित भएका छन् । नेत्री अष्टलक्ष्मी शाक्यसहित प्रदेशसभा सदस्यले प्रदेशसभा भवनको प्राङ्गणमा नाराबाजी गरेका थिए ।