काठमाण्डु – उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटाले संवैधानिक परिषद् सदस्यहरुको सपथ ग्रहण कार्यक्रम बहिस्कार गरेका छन् ।
उपराष्ट्रपति पुन र सभामुख सापकोटाले बुधबार बिहान राष्ट्रपति शीतल निवासमा भएको सपथ ग्रहण कार्यक्रम बहिस्कार गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी विभाजन भएपछि तत्कालिन माओवादीबाट उपराष्ट्रपति बनेका पुन प्रचण्ड–नेपाल समूहसँग नजिक रहँदै आएका छन् ।
सभामुख सापकोटाले संवैधानिक परिषद् सदस्यहरुको नियुक्ती सिफारिसमा असन्तुष्टी जनाउँदै फिर्ता पठाएका थिए । विभिन्न ५ आयोगमा सिफारिस भएकाहरुले बुधबार बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ ग्रहण गरेका छन् ।
केही दिन अगाडि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई उपराष्ट्रपतिसँग भेट गर्न निवासमा पुगेका थिए ।
आयोगका अध्यक्षमा सिफारिस भएकाहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सपथ गराएका हुन् । त्यस्तै सदस्यहरुलाई सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ खुवाएका छन् ।
विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ४५ जनामध्ये ३८ जना पदाधिकारीहरूले शपथ ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।




प्रतिक्रिया