काठमाण्डु – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले असंवैधानिक रूपमा संवैधानिक निकायहरूमा गरिएको नियुक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
बुधबार शीतल निवासमा संवैधानिक आयोगका पदाधिकारी र सदस्यहरुको शपथग्रहणलगत्तै सिंहले संवैधानिक आयोगमा गरिएको सिफारिस नै असंवैधानिक भएको भन्दै केपी ओलीको कदमले संविधान नै संकटमा पर्ने खतरा बढेको बताएका हुन् ।
‘सदीय सुनुवाइ समिति नै नभएका बेला संविधानको खिल्ली उडाउँदै गरिएको नियुक्तिले प्रधानमन्त्रीमा अन्तरनिहित म नै संविधान हुँ भन्ने दम्भ उजागर भएको छ,’ उनले भनेका छन्, ‘संवैधानिक परिषद्को अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी ओलीसहितको (कोरम नपुगेको) बैठकले गरेको सिफारिस नै असंवैधानिक थियो । त्यसैले आज गराइएको शपथ, असंवैधानिक सिफारिसलाई मान्यता दिनका लागि गरिएको अर्काे असंवैधानिक कदम हो ।’
संविधानलाई मिचेर अघि बढ्ने सरकारको अधिनायकवादी आकांक्षाको जति निन्दा गरे पनि कम हुने सिंहको भनाइ छ । उनले सरकारले संविधान मिचेर गरिरहेको असंवैधानिक सिफारिस, नियुक्ति, बिचौलियाहरूलाई नियम मिचेर दिइएका ठेक्कापट्टा र राज्यस्रोतको दोहनले सीमा नाघिसकेको बताएका छन् ।
नेता सिंहले अनावश्यक नियुक्ति र राज्यस्रोतको दुरूपयोग गर्दै ज्ञानेन्द्र शैलीमा गरिएका सभा–सम्मेलन देशलाई अस्थिरतातर्फ धकेल्न उद्दत पुगेको बताएका छन् ।




प्रतिक्रिया