भोलि यातायात र पसल खुला हुन्छ, अवरोध गरे कारबाही गर्छौंः प्रहरी

भोलि यातायात र पसल खुला हुन्छ, अवरोध गरे कारबाही गर्छौंः प्रहरी


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहको बिहीबारको नेपाल बन्दमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउने भएको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै उक्त समूहले नेपाल बन्दको घोषणा गरेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउने भएको हो । नेपाल प्रहरीका प्रवक्ता बसन्त बहादुर कुँवरले आन्दोलनकारीहरु तोडफोडमा उत्रिए कारबाही गर्ने चेतावनी दिए ।

उनले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले कुनै अवरोध नगर्ने जानकारी दिए । प्रवक्ता कुँवरले जबरजस्ती बन्द गराउने, आगजनी र तोडफोड भए प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्ने बताए ।

‘यसअघि पनि आन्दोलन भइरहेका छन् । त्यसमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउँदै आएको छ । भोलि पनि सुरक्षा व्यवस्था कडा हुन्छ । तोडफोडमा उत्रिए कारबाही गर्छौं, यातायात र पसल खुला हुनेछन्’, प्रवक्त कुँवरले काठमाण्डुपाटीसँग भने ।

यता प्रचण्ड–नेपाल समूहले भोली विद्यालय बन्द, यातायात, कलकारखाना, कार्यालय बन्द हुने दाबी गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलीको बन्दले परीक्षार्थीहरुलाई असर नगर्ने बताएका छन् । उनकाअनुसार परीक्षार्थीहरुले आफ्नो प्रवेशपत्र देखाएर आफ्ना साधनमा जान सक्नेछन् ।