काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगको साँखलाई अझ उचाईमा पुर्याउन चुनौती पार गर्दै साझा जिम्मेवारी वहन गर्नुपर्ने बताएका छन् ।
उनले आयोगका पदाधिकारी र कर्मचारीहरूले आफुलाई गरेको स्वागत प्रति धन्यवाद दिंदै मुलुक र जनताप्रति इमान्दारीता र निष्ठापूर्वक कार्यसम्पादन गर्ने बताए ।
उनले विगतमा आयोग तथा सार्वजनिक प्रशासनअन्तर्गत बिभिन्न निकायहरूमा कार्य गर्दाको अनुभवबाट नेपालमा भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्न जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए ।
प्रमुख आयुक्त राईले आम नेपाली जनता र नागरिक समाजको आयोग प्रतिको आकांक्षा, विश्वास र भरोसा उच्च रहेकोले आगामी दिनमा उक्त चाहना एवं भावना बमोजिम काम गर्ने चुनौती आयोगमा रहेको बताए ।
सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना साकार पार्न आयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने, आगामी दिनमा आयोगमा कार्यरत जनशक्तिको क्षमता विकास र उत्प्रेरणा अभिवृद्धि गर्ने तथा आयोगलाई नँया उचाईमा पुर्याउने विषयमा आफू सँधै क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गर्दै उनले यस अभियानमा सबै सरोकारवालाहरुको साथ सहयोग रहने विश्वास समेत व्यक्त गरे ।
कार्यक्रमकै क्रममा आयोगका आयुक्त डा. सावित्री थापा गुरुङले नवनियुक्त प्रमुख आयुक्त र आयुक्तहरूलाई आयोगमा स्वागत गर्दै आयोग पूर्ण समावेशी भएको र आगामी दिनमा आयोग आफ्नो कार्यक्षेत्रमा अझ प्रभावकारी हुने विश्वास ब्यक्त गरिन् । उनले नँया नेतृत्वलाई आगामी दिनमा सफलता मिलोस र आयोग अझै सशक्त बनोस भनि शुभकामना समेत व्यक्त गरिन् ।
नवनियुक्त आयुक्त जय बहादुर चन्दले राज्यको लक्ष्य भ्रष्टाचारमुक्त र सुशासनयुक्त समाज निर्माणमा तभबm(कउष्चष्त का साथ काम गर्नुपर्ने कुरामा जोड दिए । राज्यले संवैधानिक आयोगको पनि जिम्मेवार पदमा विश्वास गरी नियुक्त गर्दा आफु कृतज्ञ भएको कुरा उनले व्यक्त गरे ।
साथै उनले आयुक्तको रुपमा नियुक्ति हुँदा शुभकामना दिने शुभचिन्तक र शुभेक्षुक प्रति कृतज्ञता ब्यक्त गरे । उनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने पवित्र कार्यको सहयात्री हुन पाउँदा गौरवान्वित महशुस गरेको कुरा समेत बताए ।




प्रतिक्रिया