काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कानुनको पालना गरेर अगाडी बढ्न सुझाव दिएका छन् ।
बिहीबार आफूपक्षीय किसान भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यतिबेला प्रचण्ड–माधव नेपालहरु हप्किदप्कीमा लागेको भन्दै त्यसो गर्न छोडेर कानुनको पालना गरेर अगाडी बढ्न सुझाव दिएका हुन् ।
‘उहाँहरु आक्रामक ढंगले आउनुहुन्छ, नियम मान्दिनँ भन्नहुन्छ । प्रजिअ, एसपी डिएसीलाई हप्किदप्की गर्नुहुन्छ । कानुनको पालना गर्नुस् हप्किदप्की होइन’, प्रधानमन्त्री ओलीले भने, ‘प्रचण्डलाई म सम्झाउछु ती दिन गए, जतिबेला हप्कीदप्की गर्नुहुन्थ्यो । लोकतन्त्र भनेको कानुनको पलाना गर्ने हो, बलमिच्चयाइको राज होइन । ती दिन गए जतिबेला तपाईं संविधान मान्दिनँ कानुन मान्दिनँ भनेर उपद्रव मच्चाएर हिँड्नुभएको थियो ।’
त्यस्तै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल कम्युनिष्ट आन्दोलनका विरोधी भएको बताएका छन् । ‘कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठूलो विरोध कम्युनिस्टको बर्को बोकेर बाटोमा बसेका छन् । लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको विरोधी उनीहरु नै हो’ उनले भने, ‘उनीहरुले नै कम्युनिस्ट आन्दोलन बिगारे । कम्युनिस्ट आन्दोलनलाई स्वार्थसँग जोडेर मात्रै हेरे ।’
साथै प्रधानमन्त्री ओलीले प्रचण्डले जनताको दुःख हेर्न गाडीको सयर गरेको टिप्पणी समेत गरेका छन् । नेकपाको प्रचण्ड–नेपाल पक्षले आयोजना गरेको आमहड्तालका क्रममा प्रचण्ड विभिन्न ठाउँमा गाडी लिएर पुगेका थिए । प्रचण्ड गाडी लिएर पुगेको विषयमा प्रधानमन्त्री ओलीले व्यंग्य गरेका हुन् ।
‘अरूका गाडी जलाउनुभयो । आफू गाडी चढेर जनताले कति दुःख पाएका छन् हँ भनेर तमासा हेर्दै हिँड्नुभयो,’ उनले भने ।




प्रतिक्रिया