काठमाण्डु – सरकारले संवैधानिक आयोगहरूमा गरेका नियुक्ति असंवैधनिक भएको भन्दै सभामुख अग्निप्रसाद सापकोटा आफैं रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन्।
सभामुख सापकोटाले सर्वोच्च अदालतको मुद्दा महाशाखामा रिट निवेदन पेस गरेका छन् । सभामुख सापकोटाले पेस गरेको रिट निवेदनमा संवैधानिक परिषद्को पुस ५ गतेको निर्णय बदर गर्न माग गरेका छन् । साथै उक्त निर्णयका आधारमा संवैधानिक आयोगहरुमा भएको नियुक्तिको पनि बदर गर्न सभामुख सापकोटाले रिटमा माग गरेका छन् ।
अध्यादेशमाफर्त संवैधनिक परिषद् बैठक बोलाएर प्रधानमन्त्रीले आयोगहरुमा ३२ जना पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेका थिए । परिषद बैठकमा समेत सहभागी नभएका सभामुख सापकोटाले नियुक्तिको सिफारिसलाई असंवैधानिक भन्दै फिर्ता पठाएका थिए ।
नियुक्तिपछि राष्ट्रपतिबाट शपथ लिई पदभार ग्रहण गरिसकेका संवैधानिक आयोगका पदाधिकारीलाई कामकारबाही गर्न नदिन पनि रिटमा माग गरिएको छ । त्यस्तै उनीहरुको नियुक्ति यथास्थितिमा राख्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्नुपर्ने पनि सभामुख सापकोटाले रिटमा माग गरेका छन् ।
संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायका पदाधिकारीमा सिफारिस गरेका ३२ जनालाई संसदीय सुनुवाइबिनै र अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा बुधबार शीतल निवासमा उनीहरूकाे शपथ समेत गराइसकेको छ।




प्रतिक्रिया