एजेन्सी – म्यानमारको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुचीलाई उनकै घरमा नजरबन्दमा राखिएको खुलासा भएको छ ।
सेनाले सूचीलाई राजधानी नेपिदअस्थित उनकै घरमै नजरबन्दमा राखेको र उनको स्वास्थ्य अवस्था राम्रो रहेको पार्टीले जानकारी दिएको छ । गत सोमबार म्यानमारमा सेनाले ‘कू’ गरी राज्यसत्ता कब्जा गरी स्टेट काउन्सिलर र विदेश मन्त्रीसमेत रहेकी नेतृ सुची, राष्ट्रपति विन मिन्ट, एनएलडीका वरिष्ठ नेताहरु, सांसद र क्षेत्रीय मन्त्रिपरिषद्का सदस्यहरुलाई नियन्त्रणमा लिएको थियो ।
तर सूचीलगायतका नेतालाई कहाँ राखिएको छ भन्ने केही जानकारी सार्वजनिक गरिएको थिएन । तर शुक्रबार एनएलडीका सञ्चार अधिकृत क्यी टोयले सूचीको अवस्थाबारे जानकारी दिँदै भनेका छन्, ‘मैले जानकारी पाएसम्म नेतृ सुकीलाई उहाँकै घरमा नजरबन्दमा राखिएको छ र उहाँको स्वास्थ्य राम्रो रहेको छ ।’
नेतृ सुचीविरुद्ध विभिन्न आरोपमा मुद्दा दायर गरिएको छ । म्यानमार प्रहरीले सुचीविरुद्ध बिनाअनुमति रेडियो वाकीटकी राखेको भन्दै आयात निर्यातको मुद्दा दायर गरेको छ ।
म्यानमारको सेनाले जननिर्वाचित सरकारविरुद्ध ‘कु’ गर्दै शासनसत्ता आफ्नो नियन्त्रणमा लिएको हो । साथै सेनाले एक वर्षका लागि संकटकालसमेत घोषणा गर्दै टेलिफोन, इन्टरनेट, टेलिभिजन प्रसारणलगायतका सेवामाथि पनि प्रतिबन्ध लगाएको छ ।




प्रतिक्रिया