बिराटनगर – प्रदेश १ प्रदेशसभाको हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्दैछ । नेकपा विभाजनपछिको विवादका कारण प्रदेश १ को सरकार संकटमा छ । यसअघि प्रदेशसभाको पहिलो बैठक ७ माघमा करिब ३ मिनेट बसेर स्थगित भएको थियो ।
दिउँसो २ बजे डाकिएको बैठकअघि कार्यसूची तयार गर्नका लागि सभामुख प्रदीपकुमार भण्डारीले ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठकमा कुनै मध्यमार्गी बाटो ननिस्किए सत्ता पक्षले बैठक अवरुद्ध गर्ने बुझिएको छ ।
ओली समूहले कारबाही गरिएका १६ जना प्रदेशसभा सदस्यलाई प्रदेशसभा भवनमा प्रवेश नै गर्न दिन नहुने अडान लिदै आएको छ । यदि कारबाही गरिएको समूहले बैठकमा प्रवेश पाए सभाको कामकारबाही नै अगाडि बढाउने नदिने ओली समूहको तयारी छ ।
कारवाही गरिएका सदस्य बैठकमा उपस्थित भए सत्ता पक्षका सांसदले उठेर नियमापत्त गर्ने नेकपा प्रदेश–१ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए ।
प्रचण्ड–नेपाल समूहका प्रदेशसभा सदस्य जीवन घिमिरेले भने माघ ७ मा नै सबै प्रदेशसभा सदस्य बैठकमा सहभागी भइसकेकाले कारबाही गरिएको भन्ने विषय नै अन्त्य भइसकेको बताए ।
गत पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहका ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकामध्ये पाँच जनाले भने हस्ताक्षर फिर्ता लिइसकेका छन् ।
पुस ५ मा प्रतिनिधिसभा विघटनपछि नेकपाले नेतृत्व गरेका प्रदेश सरकार पनि संकटमा परेका छन् । प्रचण्ड–नेपाल समूहको बहुमत रहेका प्रदेशसभामा मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएका छन् । बागमती प्रदेशमा पनि मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।




प्रतिक्रिया