काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले चुनावको वातावरणबारे सरकारी वकिललाई प्रश्न गरेका छन् ।
संवैधानिक इजलासमा आइतबार जारी संसद विघटन विरुद्धको मुद्धामा सरकारको तर्फबाट सहन्यायाधिवक्ता श्यामकुमार भट्टराईले बहस गरेका छन् ।
बहसका क्रममा सहन्यायाधिवक्ता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक शक्तिको असफलतापछि संसद विघटन गरि जनतामा जाने निर्णय गरेको जिकिर गरेका थिए ।
उनले सर्वोच्चको फैसला सबैले स्वीकार गर्न सकिने होस भनेपछि प्रधानन्यायाधीश जबराले सर्वोच्चले गरेको फैसला स्वीकार गर्ने वातावरण छ ? भनी प्रश्न गरेका हुन् । जवाफमा भट्टराईले फिल्ड मात्रै हेरेर नहुने भन्दै संविधान र राजनीतिक अधिकार पनि हेर्नुपर्ने तर्क गरेका थिए ।
सहन्यायाधिवक्ता भट्टराईले संसद विघटनको मुद्दामा संवैधानिक इजलासले संवैधानिक नैतिकताको प्रश्न उठाएको भन्दै यो विषय सार्वभौम जनताले परीक्षण गर्ने बताए । उनले भने, ‘नैतिकताको प्रश्न सार्वभौम जनताले परीक्षण गर्छ, यसको पनि सीमा हुन्छ, कसैले सोचेको नतिजा आउँदैन ।’
त्यस्तै उनले बौद्धिक रुपमा आदर गर्न सकिने, सैद्धान्तिक रुपमा स्वीकार गर्न सकिने र व्यवहारिक खालको फैसला हुनुपर्ने बताए । आइतबार सरकारी वकिलहरुको बहस सकिँदैछ । त्यसपछि प्रधानमन्त्रीका तर्फबाट निजी कानुन व्यवसायीले बहस सुरु गर्नेछन् ।




प्रतिक्रिया