काठमाण्डु– नेपाल टेलिकमले एनटी फाइबर सेवाअन्तर्गत ल्याएको इन्टरनेट प्याकेजमा ग्राहकको आकर्षण बढेको छ । नयाँ लाइन जडानसम्बन्धी जानकारी लिन टेलिकमको १९८ नम्बरमा सम्पर्क गर्ने ग्राहकको चाप बढेपछि कम्पनीले उक्त नम्बरको क्षमता वृद्धि गरेको छ ।
नेपाल टेलिकमका अनुसार एनटी फाइबरको नयाँ लाइन जडान गर्न इच्छुक ग्राहकले १९८ नम्बरमा कल गरी आफूलाई पायक पर्ने स्थानमा सेवा उपलब्ध भए–नभएको जानकारी लिन सक्नेछन् ।
नम्बरको क्षमता वृद्धि गरेपछि ग्राहकलाई आवश्यक जानकारी लिन र सेवा जडान प्रक्रिया अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ ।
ग्राहकले एनटी फाइबर जडानका लागि अनलाइनबाट पनि अनुरोध गर्न सक्ने व्यवस्था टेलिकमले गरेको छ । यसका लागि https://complain.ntc.net.np मा लगइन गरी आफ्नो नेपाल टेलिकमको मोबाइल नम्बर प्रयोग गरेर आवश्यक विवरण पेस गर्न सकिनेछ । उक्त प्रणालीबाट इन्टरनेट जडानको अनुरोध गर्नुका साथै सेवासम्बन्धी गुनासो पनि दर्ता गर्न सकिने कम्पनीले जनाएको छ ।
टेलिकमले हालै एनटी फाइबरअन्तर्गत ४ हजार ९९९ मा ३० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराएको छ । ग्राहकको आवश्यकता र प्रयोगअनुसार अन्य प्याकेज पनि उपलब्ध छन् ।
इन्टरनेट सेवाको शुल्क, गति र गुणस्तरका आधारमा विभिन्न सेवा प्रदायकका प्याकेज तुलना गर्ने प्रवृत्ति बढिरहेका बेला तुलनात्मक रूपमा कम शुल्कमा इन्टरनेट सेवा लिन चाहने ग्राहक एनटी फाइबरतर्फ आकर्षित भएका कम्पनीले जनाएको छ ।


प्रतिक्रिया