विराटनगर – प्रदेश १ प्रदेशसभाको हिउँदे अधिवेशनको आजको बैठक स्थगित भएको छ ।
प्रदेश १ सभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी २ मिनेट बसेर स्थगित भएको हो । अब अर्को बैठक फागुन ९ लाई तोकिएको छ ।
नेकपा विभाजनपछिको विवादका कारण प्रदेश १ को सरकार संकटमा छ । यसअघि प्रदेशसभाको पहिलो बैठक ७ माघमा करिब ३ मिनेट बसेर स्थगित भएको थियो ।
आइतबार अपरान्ह २ बजे बस्ने गरी बैठक डाकिएको भएपनि कार्यसूचीबारे कार्यव्यवस्था समितिमा सहमति बन्न नसक्दा बैठक निर्धारित समयमा शुरू हुन सकेको थिएन ।
मुख्यमन्त्री शेरधन राईविरूद्धको अविश्वासको प्रस्ताव पेस गर्ने सहमतिपछि बैठक शुरू भएको थियो । आज मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेस गर्ने एकमात्र कार्यसूची थियो ।
बैठक शुरू भएलगत्तै नेकपा ओली समूहका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले कारवाही गरिएका सांसदहरूलाई हलमा प्रवेश दिएको भन्दै उठेर विरोध जनाएपछि सभामुख प्रदीप भण्डारीले बैठक स्थगित भएको सभामा जानकारी गराएका थिए ।




प्रतिक्रिया