महन्थ ठाकुरसहित तीन जना वरिष्ठ नेता दिल्ली उडे, भारतीय नेतालाई भेट्ने

महन्थ ठाकुरसहित तीन जना वरिष्ठ नेता दिल्ली उडे, भारतीय नेतालाई भेट्ने


काठमाण्डु – जनता समाजवादी पार्टी नेपाल (जसपा)का दुई जना नेता दिल्ली उडेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न राजनीतिक परिस्थितिपछि जसपा अध्यक्ष महन्थ ठाकुर र कार्यकारिणी सदस्य राजकिशोर यादव दिल्ली प्रस्थान गरेका हुन् ।

जसपाका नेता केशव झाकाअनुसार ठाकुर मुटुको जाँच गराउन गएका हुन् । झाले कोरोना भाइरसका कारण जचाउन नपाएका ठाकुरले मेदान्त अस्पतालमा नियमित जाँच गर्ने बताए ।

दुवै नेताको भ्रमण व्यक्तिगत भनिएपछि भारतीय नेताहरुसँग भेटवार्ता हुने स्रोतले जानकारी दियो । देशमा राजनीतिक अस्थीरता उत्पन्न भएपछि मधेशवादी नेताहरु भारत जाने गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि विभिन्न पक्षले आन्दोलन गरिरहेका छन् । जसपाका शीर्ष नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीले गरेको असंवैधानिक संसद विघटनविरुद्ध आगामी फागुन पहिलो सातादेखि संयुक्त आन्दोलन गरिने बताएका छन् ।

त्यसका लागि दलहरु आन्तरिक छलफलकै क्रममा रहेको उनको भनाई छ । उनले संयुक्त आन्दोलन गर्ने बताइरहेका बेला जसपाका दुवै नेताको भ्रमणलाई चासोका साथ हेरिएको छ ।

यस्तै नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल दिल्ली प्रस्थान गरेका छन् । पूर्वमन्त्री समेत अध्यक्ष ढकाल तीन दिन भारतमा बस्ने बताइएको छ ।

उनी भारतीय सांसदहरुको निमन्त्रणमा भारत भ्रमणमा निस्किएका हुन् । उनले भारतीय जनता पाटीका नेताहरु तथा सरकारका उच्च पदस्थ अधिकारीहरुलाई भेट्ने कार्यक्रम रहेको छ ।