प्रधानमन्त्रीका वकिलले १५ मिनेटभन्दा बढी बोलेपछि रिसाए प्रधानन्यायाधीश जबरा

प्रधानमन्त्रीका वकिलले १५ मिनेटभन्दा बढी बोलेपछि रिसाए प्रधानन्यायाधीश जबरा


काठमाण्डु – संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनबारे बहस भइरहेको छ । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीका वकिलहरुले बहस गरिरहेका छन् ।

आज पनि प्रधानमन्त्री अ‍ोली पक्षका वकिलहरुले बहस गर्दैछन् । बहस लम्बिन थालेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले १५ मिनेट समय निर्धारण गरेका छन् । तर, सोमबार अधिवक्ता ईश्वरी प्रसाद भट्टराईले निर्धारित समयभन्दा बढी बहस गरेपछि प्रधानन्यायाधीश जबरा रिसाए ।

भट्टराईले बढी समय लिएपछि जबराले पोडियमबाट बाहिर जान आग्रह गरिरहँदा पनि उनले नछोडेपछि झोक्किँदै भने, ‘छोडिदिनुस् प्लिज । भनेकै मान्नुहुन्न, हाम्रो बाध्यता बुझ्नुहुन्न ?’

भट्टराईपछि दुई जना अभिवक्ताले बहस गरेका छन् । दुवै जनाले समय पालना नगर्दा प्रधानन्यायाधीश जबरा झनै बढी रिसाएका थिए । उनले अधिवक्ता महेश नेपाल, सीपी रेग्मीले १५ मिनेटभन्दा बढी बोलेपछि अन्त्य गर्न आग्रह गरे ।

नेपालले संसदीय शासन प्रणालीमा संसद विघटन हुने भएकाले नेपालको संविधानले पनि मानेको तर्क गरे । प्रधानन्यायाधीश जबराले यहे विषय पहिले नै आइसकेकाले आफ्नो बहस छोट्याउन आग्रह गरे । प्रधानन्यायाधीश जबराले झोक्किँदै भने, ‘छोडिहाल्नुस्, बन्द गरिहाल्नुस् ।’