एजेन्सी- जनवरी ६ मा संसद भवनमा भएको हिंसात्मक आक्रमणमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कुनै संलग्नता वा भूमिका नरहेको उनका वकिलहरुले बताएका छन् । महाभियोगसम्बन्धी आरोपबारे जबाफ दिँदै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका वकिलहरूले उनका समर्थकहरूले आफ्नै विवेकमा संसद् भवनमाथि आक्रमण गरेको बताएका हुन्।
वाशिङ्गटनस्थित क्यापिटल भवनमाथि गत जनवरी ६ तारिखको दिन आक्रमण भएको थियो। मंगलबारबाट अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा महाभियोगसम्बन्धी सुनुवाइ शुरू हुँदैछ। गत महिना तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले दोस्रो पटक ट्रम्पमाथि महाभियोग लगाएको थियो।
हिंसात्मक दङ्गा शुरू हुनुअगाडि आफ्ना समर्थकहरूलाई “हिंसाका लागि उक्साएको” उनीमाथि आरोप छ। ट्रम्पले चाहिँ महाभियोगसम्बन्धी सुनुवाइमा आफू बयान दिन नआउने बताउँदै आएका छन्।
उनका समर्थकहरूले क्यापिटल भवनमाथि आक्रमण गर्दा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो भने त्यति बेला संसद् भवनभित्र रहेका सांसदहरू लुक्न बाध्य भएका थिए। अमेरिकी इतिहासमा दुई पटक महाभियोग लगाइएका ट्रम्प पहिलो राष्ट्रपति हुन्।
त्यसैगरी अमेरिकामा महाभियोग लगाइएका कुल तीनमध्ये एक राष्ट्रपति पनि उनी हुन्। सुनुवाइपूर्व सोमवार सार्वजनिक विवरणअनुसार ट्रम्पका वकिलहरूले सङ्घीय अनुसन्धान निकाय एफबीआईका दस्तावेजहरूबाट ज्यानुअरी ६ तारिखको घटना हुनुभन्दा केही दिन पहिल्यै त्यसको योजना बनाइएको देखिएको उल्लेख गरेका छन्।
ट्रम्पका वकिलहरूले उनीविरुद्ध सुनुवाइ गर्न खोज्नु असंवैधानिक भएको पनि दाबी गरेका छन्। उनी अहिले पदमा नरहेको र आमनागरिक भइसकेको वकिलहरूको तर्क छ। उनीहरूले महाभियोग प्रक्रियालाई डेमोक्र्याटहरूद्वारा गरिएको “राजनीतिक नौटङ्की” र “एउटा निर्लज्ज राजनीतिक कार्य” को सङ्ज्ञा दिएका छन्।




प्रतिक्रिया