काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले संसद विघटनकाविरुद्धमा अन्तिम धक्काका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ ।
शुक्रबार तामाङ समुदायको सोनाम ल्होसार र शेर्पा समुदायको ग्याल्बो ल्होसार पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्षद्वय माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी कदम विरुद्ध अन्तिम धक्काका लागि तयार रहन आव्हान गरेका छन् । गत पुस ५ गते प्रधानमन्त्र केपी शर्मा अोलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूह सडक संघर्ष गरिरहेको छ ।
‘पछिल्लो घटनाका रुपमा सरकारको तर्फबाट उत्पीडनमा परेका जाति, क्षेत्र र लिङ्गका जनताको मौलिक हक अधिकार कुण्ठित गर्ने दुष्प्रयास सुरु भएको छ । त्यसकारण हजारौं जनताको त्याग र समर्पणबाट प्राप्त अधिकार रक्षाका लागि प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम विरुद्ध आन्दोलनमा होमिनुको कुनै विकल्प छैन’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ तामाङ र शेर्पा समुदाय सहित सम्पूर्ण नेपाली जनतामा यस पर्वको अवसरमा सु–स्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामनाका गर्दै प्रतिगामी कदम विरुद्ध अन्तिम धक्काका लागि तयार रहन हार्दिक आव्हान गर्दछौं ।’
त्यस्तै विज्ञप्तिमा समुदायको पहिचान र हक अधिकारका लागि नेपाली जनताले सयौं वर्षदेखि संघर्ष गर्दै आएको स्मरण गर्दै जनताको बलिदानीपूर्ण संघर्ष र त्यागले नै नेपालमा धर्मनिरपेक्षता, समानुपातिकता, समावेशिता, संघीयता र गणतन्त्रात्मक व्यवस्था कायम भएको बताइएको छ ।
‘विविधतायुक्त नेपाली समाजमा विभिन्न समुदायका यसप्रकारका चाडपर्व, रीतिरिवाज र संस्कृतिले नै सिंगो राष्ट्रको मौलिक पहिचान झल्काउँदछ । जातीय, धार्मिक, लैंङ्गिक र सामुदायिक परम्परा नै यो देशको गहना हो’, विज्ञप्तिमा भनिएको छ, ‘यस्ता सांस्कृतिक पर्वहरुका माध्यमबाट सांस्कृतिक पहिचान र भौगोलिक विविधतायुक्त विशेषता रहेको नेपाली जनसमुदायमा आपसी बन्धुत्व, सहिष्णुता र सामाजिक सांस्कृतिक ऐक्यवद्धताको अभिवृद्धि हुन्छ ।’





प्रतिक्रिया