एजेन्सी – म्यानमारमा सैन्य ‘कू’ पछि अधिकांश शहरमा बख्तरबन्द गाडीहरू तैनाथ भएका छन् । म्यानमारका शहरका सडकमा सेना बख्तरबन्द गाडीसहित निस्कन थालेका छन् भने इन्टरनेट सेवा समेत बन्द गरिएको बीबीसीले जनाएको छ । नेपाली समय अनुसार आइतबार राति सवा १२ बजेदेखि सेनाले इन्टरनेट लगभग पूर्ण रुपमा बन्द गरेको हो ।
सुरक्षा अधिकारीहरूले रातको समयमा घरहरूमा छापा समेत मारिरहेका बताइएकाे छ । नेतृ आङ साङ सूकीसहितलाई पक्राउ गरि सेनाले फेब्रुअरी १ मा सत्ता हत्याएको हो । त्यसपछि विरोधमा सर्वासाधारण, पेशाकर्मी, भिक्षुसहित विरोधमा उत्रिएका छन् । केही ठाउँमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली प्रहार गरेका खबर आए पनि औपचारिक रुपमा पुष्टि हुन भने बाँकी रहेकाे जनाएकाे छ ।
सबैभन्दा ठूलो सहर याङ्गुनमा सैन्य अधिकारीहरू सडकमा उत्रेको विवरण आइरहेका बेला म्यान्मारस्थित पश्चिमा राष्ट्रहरूका दूतावासहरूले भने हिंसाको प्रयोग नगर्न आग्रह गरेका छन्। स्थानीय समय अनुसार दिनको १ बजेदेखि त्यहाँ इन्टरनेट सेवा पूर्ण रूपमा बन्द गरिएको छ। संयुक्त राष्ट्र सङ्घका एकजना अधिकारीले सेनाले जनताविरुद्ध “युद्धको घोषणा गरेको” आरोप लगाएका छन्।
म्यान्मारका लागि संयुक्त राष्ट्र सङ्घका विशेष प्रतिवेदक टम एन्ड्रीउजले सैन्य जनरलहरूले “हतोत्साहको सङ्केत” देखाइरहेको र उनीहरूलाई जबाफदेही बनाइने बताएका छन्। युरोपेली संघ (इयू), अमेरिका र यूकेले हस्ताक्षर गरेको एउटा वक्तव्यमा भनिएको छ, “हामी सुरक्षा निकायहरूलाई वैध सरकार हटाइए विरुद्ध भइरहेको प्रदर्शनमा सहभागी भएकाहरू माथि हिंसा नगर्न आग्रह गर्छौँ।”
म्यान्मारमा भएको सैन्य कू ले नेत्री आङ सान सूकीले नेतृत्व गरेको सरकार अपदस्थ गरिदिएको थियो। नेत्री सूकीको न्याश्नल लीग फर डेमोक्र्यासी (एनएलडी) ले ठूलो बहुमतका साथ जित हासिल गरेको थियो। तर सेनाले भने चुनावमा धाँधली भएको बताउँदै आएको छ।सूकी हाल आफ्नै निवासमा नजरबन्दमा छिन्। सयौँ अधिकारवादी र नेताहरूलाई पक्राउ गरिएको छ। म्यान्मारमा सेनाविरुद्ध देशव्यापी रूपमा लगातार नवौँ दिन हजारौँ प्रदर्शनकारीहरूले विरोध कार्यक्रम गरेका छन्।




प्रतिक्रिया