निशेष खनाल
काठमाण्डु – स्वास्थ्य क्षेत्रका विज्ञहरुले कोरोना भाइरस संक्रमणविरुद्धको खोप नेपालमा प्रभावकारी देखिएको बताएका छन् । उनीहरुले भारतले सहयोगस्वरुप उपलब्ध गराएको १० लाख डोज खोप प्रभावकारी देखिएको बताएका हुन् ।
स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक गौतमले नेपालमा प्रयोग भएको सेराम कोभिसिल्ड विश्वका १६ वटा मुलुकहरुले प्रयोग गरिरहेको बताए । खोप मेडिकल उत्पादनमध्ये सबैभन्दा बढी सुरक्षित रहेको बताउँदै उनले निर्धक्क भएर खोपको प्रयोग गर्न आग्रह गरेका छन् । डा. गौतमले खोपले रोगप्रतिरोधात्मक क्षमता बढ्ने बताए ।
त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुपराज बरालले कोरोना भए पनि खोप लगाएका व्यक्तिमा मृत्युदर नहुने बताए ।
‘खोप लगाएका व्यक्तिमा कोरोना देखियो भने शून्य प्रतिशत मानिस सिकिस्त भए । त्यसकारण खोपले सिकिस्त हुनबाट जोगाउँछ’, उनी भन्छन् ।
अहिले हामीलाई चिन्ताको विषय छ– खोपले काम कसरी गर्छ ? खोपले हाम्रो शरीरमा भाइरसको चिम्पाञ्जीमा हुने एडिनो भाइरस जसले हाम्रो शरीरलाई केही पनि गर्न नसक्ने अवस्थामा लैजान्छ । खोपका दुई किसिमका शक्ति हुन्छन् । पहिलो सेल्युलर इन्युनिटी बनाउँछ । अर्को रोगप्रतिरोधात्मक एन्टीबडी पनि बनाउँछ । यसले ६ देखि आठ महिनासम्म रोगप्रतिरोध शक्ति बसेको देखाएको छ । खोपले लामो समयसम्म रहने अवस्था छ । अहिलेसम्म कति समयसम्म बस्छ र कति समयसम्म बस्न सक्छ भन्ने कुरा अध्ययनको विषय रहेको डा. बाँस्तोला बताउँछन् ।
‘खोप लगाएपछि सुरक्षित हुँदैन । हामीले आवश्यक सावधानी नपनाएको खण्डमा संक्रमण हुन सक्छ । हामीले हात धुने, मास्क लगाउने र भीडभाडबाट टाढा रहनुपर्छ’, उनले भने ।
खोपका असर
सरकारले सुरक्षित भनिरहेको कोरोना संक्रमणविरुद्धको खोपले केही मानिसहरुमा असर देखिरहेको छ । कतिपय मानिसहरुलाई खोप लगाएको समयदेखि दुई/तिन दिनसम्म ज्वरो आउनेजस्ता समस्या देखिएका छन् । चिकित्सकहरुले खोप लगाएको आधा घण्टा रेष्ट गर्न आग्रह गर्छन् । आखिर त्यो किन अनिवार्य छ ? डा. अनुपराज बास्तोला भन्छन्, ‘खोपले कोहीकोही व्यक्तिहरुमा हाइपोसेन्सिटिभ गराउँदछ । खोपसँग हामीलाई एलर्जी रहेछ भने स्वासप्रस्वासको समस्या, ब्लडप्रेसर घट्न सक्ने, रिँगटा लाग्ने र फेन्ट हुने सम्भावना हुन्छ । त्यो देखिन्छ कि भनेर सरकारले खोप लगाएपछि आधा घण्टा आराम गर्नु भनेको हो ।’
उक्त चरण पार गरिसकेपछि खोप लगाएका मानिसहरुमा साधारण समस्या देखिन सक्छ । कसैलाई खोप लगाएको ८–१० घण्टासम्म दुख्ने, रातो हुने, चिलाउने,ज्वरो आउने, काम छुटेजस्तो हुने स्वास्थ्य क्षेत्रका विज्ञहरुले बताएका छन् । उनीहरुले यो सामान्य लक्षण भएकाले नआत्तिन आग्रह गरेका छन् । २४ देखि ७२ घण्टासम्म लक्षण देखा पर्ने डा. बाँस्तोलाले जानकारी दिए । त्यसको समाधानका लागि झोलिलो खानेकुरा खाने, प्यारासिटामोल खान विज्ञको सुझाव छ । तर, खोप लगाएको ठाउँमा ५/७ दिनसम्म दुख्ने, अनावश्यक ज्वरो ५/७ दिनसम्म आए र अन्य लक्षण देखिन सुरु भए चिकित्सकहरुको सल्लाह लिन डा. बाँस्तोलाको सुझाव छ ।
राज्यको कति खर्च हुन्छ ?
खोपको प्रयोग गर्दा राज्यले कति नोक्सानी व्यहोरिरहेको छ ? त्यो आम चासोको विषय बन्दै आइरहेको छ । सरकारले नागरिकलाई निःशुल्क खोप लगाउने कुराहरु पनि गरिरहेको छ । एउटा मानिसमा खोप लगाउँदा राज्यलाई के–कति घाटा लाग्छ ?
खोप किन लगाउने ? खोप आर्थिक विषयसँग सम्बन्धित छ । सरकारले नागरिकका लागि १ डलर खोपका लागि खर्च गर्यों भने राज्यले १६ डलर रिर्टन पाउने अध्ययनले देखाएको छ । नेपालले अहिले भारतमा उत्पादन भइरहेको सेराम कोभिसिल्ड खोपको प्रयोग गरिरहेको छ ।
उक्त खोप विश्वका १६ वटा मुलुकले प्रयोग गरिरहेका छन् । डा. गौतमले उक्त खोप विश्वका कम आय भएका मुलुकहरुले बढी प्रयोग गरेको बताए । उनले खोपको मूल्य थोरै भएकाले नेपालसहितका काम आय भएका मुलुकहरुका लागि प्रभावकारी देखिएको बताए ।
गा गौतमले खोप रोगबाट जोगिनका लागि अथवा रोगको जटिलताबाट मात्र जोगिनका लागि खोप नदिने बताए । ‘त्यसले राज्यको अर्थव्यवस्था सुद्धृढ बनाउने कुरामा खोपको हात हुन्छ । त्यसकारण खोपमा राज्यले १ डलर खर्च गर्नु भनेको त्यो लगानी गर्नुसरह हो’, उनले भने ।
खोपको प्रयोगबाट हुने आम्दानी इन्फ्रास्ट्रक्चर र शिक्षाबाट पनि राज्यले त्यति नाफा पाउँदैन । राज्यको उक्त लगानी अन्य क्षेत्रको भन्दा सबैभन्दा बढी रहेको बताइएको छ । सरकारले विभिन्न अध्ययनबाट खोपको प्रयोग गर्दा नागरिकबाट प्रतिव्यक्ति १६ डलर नाफा कमाउनु रहेको देखाइएको छ । राज्यले अहिले खोपलाई पहिलो प्राथमिकतामा राखेर लगानी गरेको देखिन्छ । हाल राज्यले ६ लाख २० हजार बालबालिकाहरुलाई १२ वटा खोप प्रयोग गरिरहेको छ ।
त्यस्तै करिब सात लाख गर्भवती आमाहरुलाई टिडी खोप निःशुल्क लगाइरहेको डा. गौतमको तर्क छ । सरकराले हालसम्म विफर रोग उन्मुलन गरेको छ भने दादुरा रोग निवारणको अवस्थामा रहेको उनले बताए । हेपाटाइएटिस रोग सरकारले नियन्त्रण गरेको छ । हालसम्म विश्वका धेरै मुलुकहरुले कोरोना खोपमा लगानी गरेका छन् । उनीहरुले क्लिनिकल ट्रायलमा धेरै लगानी गरेका हुन् ।
माघ २० गतेको तथ्यांकअनुसार ७० वटा खोपहरु क्लिनिकल ट्रायलमा रहेका छन् । २० वटा खोप तेस्रो चरण, एउटा खोपले विश्व स्वास्थ्य संगठनबाट आपतकालिन अनुमतिका लागि फाइजरको खोप सूचीकृत भइसकेको छ । अहिले विश्वमा १० वटा खोपहरु प्रयोगमा रहेका छन् ।
डा. गौतमले प्राथमिकताका आधारमा मात्र खोप वितरण गर्न सकिने बताए । उनले नेपालले लगाएको फाइजरको खोप ३५, मोरोना ११, साइनोब्याग ६, सेराम कोभिसिल्ड १६ (नेपालसहित) मुलुकमा प्रयोग भइरहेको बताए ।
दोस्रो चरणको खोप कहिले ?
सरकारले पहिलो चरणको खोप लगाएकाहरुलाई २८ दिनपछि दोस्रो चरणको खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो डोज लगाएकाहरुलाई ८ देखि १२ हप्तामा दोस्रो डोज लगाउने जानकारी दिएको छ ।
उनले भने ‘ यस अघि दोस्रो डोज २८ दिनपछि लगाउने भनिए पनि दोस्रो डोज भ्याक्सिन अलि ग्यापमा लगाउँदा एन्टिबडी झनै राम्रो हुने रिपोर्टहरु बाहिर आएको हुँदा हामीले ८ देखि १२ हप्तामा लगाउने गरी तयारी गरेका छौँ ।’




प्रतिक्रिया