काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता आनन्दप्रसाद ढुंगानाले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदम असंवैधानिक, अलोकतान्त्रिक भएको भनेर आफ्नो पार्टीले पहिल्यै नै ठहर गरेको र अहिले आन्दोलित रहेको बताएका छन् । उनले भोलि बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले नयाँ रणनीति सार्वजनिक गर्ने बताए ।
मंगलबार राजधानीमा भएको एक साक्षात्कारमा बोल्दै नेता ढुंगानाले विगतमा राजनीतिक अस्थिरता भयो भनेर आफूहरुले प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउनेगरि संविधानमा व्यवस्था गरेको भएपनि प्रधानमन्त्री ओलीले हुँदै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको भन्दै कडा आक्रोश पोखे ।
उनले भने,‘हिजो हामीले अब आन्दोलन गर्न नपरोस, लोकतन्त्र र प्रजातन्त्रको लागि भनेर हाम्रा नेताहरुले रत्कपार्कमा भाषण गरेर हिँड्नभएको थियो । हामीले पनि त्यही चाहेका थियौं । नेकपाको आन्तरिक झगडाको कारणले संसद भंग गर्न पाईँदैन् । देशलाई बन्धक बनाउन पाईँदैन् । अब अस्थिरता नहोस, संसद भंग नहोस भनेर संविधानमा कहीँ पनि संसद भंग गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन् । तर, प्रधानमन्त्री ओलीले भंग गरिदिए । काम गर्न दिएन भन्नुहुन्छ ? यो उहाँको कमजोरी हो नि । यो त राष्ट्र र जनताको कमजोरी होईन नि। मैले धेरै काम गरें भन्नुहुन्छ, अनि फेरि मलाई काम गर्न दिईएन भन्नुहुन्छ । यो दोधारे कुरा हो ।’
प्रधानमन्त्री ओलीले दुई तिहाई पुर्याउनको लागि उपेन्द्र यादवलाई मन्त्री बनाएको र संविधान संशोधन गरिदिन्छु भनेको र त्यो केही पनि नगरेको पनि उनले सुनाए । उनले जनताले बहुमत दिँदा पनि नेकपा नेतृत्वको सरकारले काम गर्न नसकेको आरोप लगाए । उनले भने,‘अब कम्युनिष्टलाई हामी भएको भए यसो गर्दथ्यौं भन्न सुहाउँदैन् ।’
उनले आगामी वैशाख १७ र २७ गते निर्वाचन भएन भने देश अन्धकारमा जाने पनि चिनता व्यक्त गरे । उनले भने,‘देशअस्थिरता र अन्धकारमा जाने कुरा, त्यसको जिम्मेवारी कसले बोक्ने ? अहिलेको परिस्थिति जटिल परिस्थिति हो । कांग्रेसको आन्दोलन अन्तर्राष्ट्रिय लेभलले हेरिरहेको छ । हामीले पनि मूल्यांकन गरिरहेका छौं । को पदमा बस्ने ? को नबस्ने ? भनेर देशको सार्वभौमसत्तासम्पन्न संसद विघटन गर्न मिल्छ ?’
उनले विगतमा पनि आफूहरुले संयुक्त आन्दोलन गरेको स्मरण गर्दै भने–‘विगतमा त हामीले संयुक्त आन्दोलन गरेकै हो नि । हामीलाई विश्वास लागिरहेको छैन् । बाँदरको हातमा नरिवलजस्तो गर्नुहुन्छ । कांग्रेसले एक्लै परिवर्तनको एजेण्डा बोकेको छ । निर्वाचन आयोगले काम गर्नैपर्छ । न्यायका लागि कांग्रेसले कबुल गरेको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि छ । हामीले ओलीको कदम असंवैधानिक कदम हो । सर्वसत्तावादी सोच भनेको हो । हामी आन्दोलनमा अहिलेपनि छौं । भोलि रणनीति बनाउँछौं । नेपाली जनताको अधिकारसम्पन्न सर्वोच्च संस्था संसद विघटन गलत हो । कुनैपनि तानाशाहले गर्न खोज्यो भने कांग्रेसले छाड्दैन् ।’




प्रतिक्रिया