संसद विघटनले जनतामा निराशा छायो, प्रधानमन्त्रीले गलत कदम सच्याउनुपर्छः उपराष्ट्रपति पुन

संसद विघटनले जनतामा निराशा छायो, प्रधानमन्त्रीले गलत कदम सच्याउनुपर्छः उपराष्ट्रपति पुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपराष्ट्रपति नन्दबहादुर पुनले नागरिकमा निराशा र आक्रोश छाउनु देशका लागि राम्रो नभएको बताएका छन् ।

नेपाल पत्रकार महासंघको २६औं साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पुनले देशमा सरकारको पछिल्लो कदमपछि धेरै नागरिक आक्रोशित र निराश बनेको भन्दै यो अवस्था देशका लागि हितकर नहुने बताएका हुन् ।

सरकारको कदमको पक्ष र विपक्षमा देशभर प्रदर्शन भइरहेको तर राजनीतिक दलहरू, पत्रकार महासंघलगायतका नागरिक संस्थाहरूले पनि सरकारको कदमको विरोध गरेको भन्दै उनले सरकारले नागरिकलाई शान्ति, समृद्धि र विकास दिनुपर्ने बताए ।

उपराष्ट्रपति पुनले मुलुकलाई राजनीतिक संकटबाट जोगाउन प्रतिनिधिसभा पुर्नस्थापना हुनुपर्ने बताए । उनले संसद विघटनले मुलुकलाई राजनीतिक दुर्घटनातिर धकेलेको टिप्पणी गर्दै संसद पुर्नस्थापना हुनुपर्ने बताएका हुन् ।

संसद विघटनपछि जनतामा व्यापक निराशासँगै आक्रोश बढेको भन्दै उनले प्रधानमन्त्रीले आफ्नो गलत कदम सच्याउनुपर्ने बताए । त्यस्तै उनले नागरिकप्रति जिम्मेवार भएर पत्रकारिता गर्न प्रेस जगतसँग आग्रह गरे ।