काठमाण्डु – बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न भएको भन्दै एक जनाविरुद्ध प्रहरीमा जाहेरी परेको छ ।
सुदूरपश्चिप्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले भागरथीका दाई शंकर भट्टले छिमेकी १६ वर्षीय दिनेश भट्टविरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीमा किटानी जाहेरी दिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।
उनले भागरथीको हत्यामा अन्य व्यक्ति संलग्न भएको नदेखिएको बताए ।
‘घटनास्थलको प्रकृति र उसले गर्नसक्ने गतिविधि हेर्दा १६ वर्षको किशोरले १७ वर्षको किशोरीलाई जबरजस्ती बलात्कार गरी हत्या गर्नै नसक्नेजस्तो देखिँदैन,’ डिआइजी सुवेदीले भने‚ ‘अनुसन्धानले उनी एक्लै यसमा संलग्न भएको देखिएको छ, अब फरेन्सिक ल्याबलगायतका रिपोर्टहरु आएपछि यसबारे हामी थप तथ्यहरू बाहिर ल्याउन सक्छौँ।’
भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्त दिनेश भट्टलाई म्याद थपको लागि अदालत लगिएको छ ।
जिल्ला अदालत बैतडीमा लगेर आरोपी भट्टलाई हिरासतमा राखेर अनुसन्धानका लागि म्याद लिने प्रहरी तयारी छ । भट्टविरुद्ध करणी र ज्यान सम्बन्धी कसुर मुद्दामा म्याद थप हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट फर्किने बेला बेपत्ता भएकी थिइन् ।
भोलिपल्ट माघ २२ गते उनी स्थानीय लवलेक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् ।
उनको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी दिनेश भट्टलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो ।
उनले भागरथीको हत्या गरेको स्वीकार गरिसके पनि बलात्कार गरेको अस्वीकार गरेका छन् ।




प्रतिक्रिया