काठमाण्डु – बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टका हत्या प्रहरीले सार्वजनिक गरेपनि उनकी आमा द्रौपदीले असन्तुष्टी जनाएकी छन् ।
प्रहरीले भागरथीको हत्या आरोपमा सोही स्थानका १६ वर्षीय दिनेश भट्टलाई आज सार्वजनिक गरेको थियो । उनकी आमा द्रौपदीले भागरथीका हत्यारा अरु नै भएको बताएकी छन् । उनले भागरथीका भाइले दिदीको हत्या गर्न नसक्ने भन्दै शव नबुझ्ने बताएकी हुन् ।
‘उ त भागरथीको भाइ हो, मेरो छोरो पर्छ । छोरी जेठी हो, ऊ कान्छो हो । ऊ भन्दा छोरी ठूली थिई । एक्लैले कसरी मार्यो भागरथीलाई मैले धकेलेर मारेको हुँ भनिरहेको छ रे’, उनले भनिन् ।
उनले छोरी भागरथीले न्याय नपाउँदासम्म शव नबुझ्ने अडान लिएकी छन् । उनले आफ्नी छोरीले न्याय नपाउनेमा विश्वस्त रहेको बताएकी छन् । उनले न्याय नपाएपछि आफू बाच्नुको अर्थ नभएको बताएँदै प्रहरी चौकीमा गएर आत्महत्या गर्ने चेतावनी दिएकी छन् ।
उनले भनिन्, ‘न्याय नपाएपछि मैले बाच्नुको अर्थ छैन । म पुलिस चौकी अगाडि गएर मर्दिन्छु ।’
भागरथीको बलात्कारपछि हत्यामा संलग्न भएका व्यक्तिलाई सार्वजनिक नगरेसम्म शव नउठाउने अडान लिएका मृतकका परिवारले प्रहरीले अभियुक्त सार्वजनिक गर्दा समेत शव नबुझ्ने अडान लिएका हुन् ।
मृतकका काका नाता पर्ने शिवराज भट्टले प्रहरीले अभियुक्त सार्वजनिक गरेपनि आफूहरु उनले दिएको भनिएको साबिती बयानमा विश्वस्त नरहेका कारण तत्काल शव नबुझिएको बताएका छन् ।




प्रतिक्रिया