काठमाण्डु – नेपालका लागि जापानी राजदूत मासामिची साइगोले सभामुख अग्निप्रसाद सापकोटासँग बिदाई भेट गरेका छन् ।
आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत साइगोले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटघाट गरेका हुन् । भेटमा सभामुख सापकोटाले नेपाल र जापानबीच ६५ बर्ष लामो मैत्रिपूर्ण सम्बन्ध सुमधुर रहेको चर्चा गरे ।
उनले कोभिड–१९ का कारण मानव जातिको सभ्यता र अस्तित्वमा सिर्जना भएको चुनौतीमाथि मानव जातिको जित सुरु भएको बताउँदै जापानमा आजै देखि कोभिड–१९ विरुद्ध खोप कार्यक्रम सुरु भएकोमा खुसी व्यक्त गरे । सभामुख सापकोटाले यसका लागि जापानी सरकार लगायत सबै जापानी जनतालाई बधाई ज्ञापन गरे ।
जापानले नेपालको शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा गरिरहेको सहयोगप्रति आभार व्यक्त गर्दै सभामुख सापकोटाले नेपाली कामदारका लागि उपलब्ध गराएको रोजगारीको अवसरका लागि धन्यवाद ज्ञापन गरे ।
सभामुख सापकोटाले समय प्रतिकुल भएपनि कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदुतलाई बधाई ज्ञापन गरेका छन् ।
भेटका अवसरमा राजदुतले नेपाल बसाइका क्रममा भएको सहयोग्रति आभार प्रकट गर्दै यस पछि आउने राजदूतले पनि यस्तै सहयोग पाउने आशा व्यक्त गरे ।




प्रतिक्रिया