काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीनिकट भएकै कारण राष्ट्रपतिले ३ ‘हत्यारा’लाई माफी दिएको भन्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले आपत्ति जनाएको छ ।
आफ्ना तत्कालीन चितवन जिल्ला अध्यक्ष शिव पौडेलको हत्यामा संलग्न तीन कैदीलाई छुटकारा दिइएको भन्दै तरुण दलले आपत्ति जनाएको हो ।
ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो प्रजातन्त्र दिवसका अवसरमा ५ सयभन्दा बढीलाई बाँकी कैद मिनाहा गरेकी थिइन् ।
सो क्रममा वि.सं. २०६८ पुसमा चितवन जिल्ला कारागारभित्रै पौडेलको हत्या अभियोगमा दोषी ठहर भई कैद भुक्तान गरिरहेका फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसी पनि परेका थिए । उनीहरु तीनै जना ओली समूहका समर्थक हुन् ।
जसको विरोध गर्दै तरुण दलका अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्ति जारी गर्दै यसको विरोधमा संघर्ष नै गर्ने चेतावनी दिएका छन् ।
असल चालचलन भएका कैदीबन्दीलाई प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, दसैंजस्ता महत्वपूर्ण अवसरमा बाँकी सजाय माफी दिई कारागारमुक्त गर्ने प्रावधान छ ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्रकै खिल्ली उडाउँदै नेकपाको ओली गुटको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी कैद मिनाहा गरी उनीहरूलाई आममाफी दिइएकोप्रति नेपाल तरुण दल गम्भीर आपत्ति जनाउँदै उक्त कार्यको घोर निन्दा एवं भर्त्सना गर्दछ ।’




प्रतिक्रिया