काठमाण्डु – सरकारले पूर्वलडाकूहरुका समस्या समाधानतर्फ चासो देखाएको छ । तत्कालिन माओवादीबाट सशस्त्र युद्ध लडेका पूर्वलडाकूहरुका समस्याबारे सरकारले चासो देखाएको हो ।
आइतबार बिहान परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि पूर्वलडाकू, शहीद परिवार एवं अपाङ्ग भएका व्यक्तिहरुसँग भेटवार्ता गरेका छन् । उनले पीडित सबैका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्र ज्ञवालीले पूर्वलडाकूहरुका माग पूरा गर्न सरकार तयार रहेको बताए ।
‘बहिर्गमित जनमुक्ति सेनामा आबद्ध पूर्व लडाकू साथीहरू, सशस्त्र द्वन्द्वका शहीद परिवार र घाइते एवं अपाङ्ग साथीहरूसँग छुट्टा छुट्टै भेटघाट भएको छ । उहाँहरूको समस्या र भावनाको सम्बोधन गर्ने प्रक्रिया सुरु गरेका छौं’, भेटपछि मन्त्री ज्ञवालीले भने ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वलडाकूहरुका समस्या समाधान गर्न आफू तयार रहेको बताएका थिए । पूर्वलडाकूहरुको समूहलाई प्रधानमन्त्री अोलीले पुष्पकमल दाहाल प्रचण्डले जस्तो धोका नदिने भन्दै ढुक्क हुन आग्रह गरेका थिए ।
‘नेतृत्वले तपाईहरूका भावनाको दुरूपयोग ग¥यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ । यसरी आइरहँदा तपाईहरू ढुक्क हुनुहोस, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं । नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन’, प्रधानमन्त्री अोलीले भनेका थिए ।
उनीहरुले तत्कालिन आफ्ना कमाण्डर प्रचण्ड पटक-पटक सरकारमा गए पनि आफूहरुका माग सम्बोधन नगरी अपमान गरेको बताउँदै आएका छन् । प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित छ ।
१० वर्ष जनयुद्ध लडेर आएका प्रचण्ड समूहका केही नेताहरु पनि ओली समूहमा लागेका छन् भने पूर्वएमालेका माधव नेपालसहित झलनाथ खनाल प्रचण्ड–नेपाल समूहमा छन् ।
पूर्वमाअोवादीका नेताहरु प्रचण्डलाई अध्यक्ष मान्न नसक्ने भन्दै ओली समूहमा लागेका हुन् । प्रचण्डसँगै जनयुद्ध लडेका रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी लगायतका नेताहरु अहिले ओली समूहमा छन् । उनीहरुको पहलमा सरकारले हाल पूर्वलडाकूहरुका माग सम्बोधन गर्ने तयारी थालेको छ ।




प्रतिक्रिया