काठमाण्डु – सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेपछि आगामी वैशाख १७ र २७ गतेको निर्वाचन पनि स्थगित भएको छ ।
निर्वाचन आयोगले चुनावी प्रक्रिया अगाडि बढाइरहेका बेला अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि निर्वाचन प्रक्रिया पनि स्थगित भएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले काठमाण्डुपाटीसँग कुरा गर्दै संसद ब्यूँतिएपछि निर्वाचन गर्ने कुरै नरहेको स्पष्ट पारेका छन् ।
‘सर्वोच्च अदालतबाट संसद पुनःस्थापना गर्ने फैसला भएपछि निर्वाचन गर्ने कुरै भएन’, उनले भने ।
त्यस्तै आयोगले निर्वाचनका लागि आवश्यक पर्ने सामाग्री खरिदका लागि बोलपत्र आह्वान गरेको थियो । आयोगले २८ प्रकारका सामाग्री खरिदका लागि बोलपत्र आह्वान गरेको थियो । जसमा छपाइसम्बन्धी मतपेटिका स्टिकर र परिचयपत्र, पोलबुक र कार्डहरु, सुरक्षण सिल र रबर म्याट, रबर र पित्तलको स्वस्तिक छाप, नउड्ने मसीको मार्कर, छेकाबार, स्ट्याम प्याड र मसी, जेलपेन, मार्करपेन, पञ्चिङ मेसिन रहेका छन् ।
प्रवक्ता श्रेष्ठले अब आयोगले सामाग्री खरिद प्रक्रिया पनि रद्द गर्ने जानकारी दिए । उनले सूचना प्रकाशित गर्दा केही रकम खर्च भए पनि अन्य रकम यथावत नै रहेको बताए ।
त्यस्तै आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादका विषयमा भने अन्तिम निर्णय सार्वजनिक गर्ने उनले जानकारी दिए । प्रवक्ता श्रेष्ठले पार्टीको नाम र चुनाव चिन्हबारे जारी विवाद आयोगले टुंगो लगाउने बताए । प्रचण्ड–माधव नेपाल र केपी शर्मा ओलले पार्टीको नाम र चुनाव चिन्हबारे आ–आफ्नो दाबी गर्दै आइरहेका छन् । तर, आयोगले यस विषयमा अन्तिम निर्णय गरिसकेको छैन् ।
आयोगले पार्टीको विवादबारे निवेदन परेकाले आफूहरुले केही समयपश्चात फैसला गर्ने जानकारी दिए । उनकाअनुसार चुनाव नहुने भएपछि आयोगलाई आज भोली नै पार्टीको विवाद टुंगो लगाउनुपर्ने दबाब छैन् । आयोग दल दर्ताका लागि सूचना निकाल्नुपर्ने दबाबमा थियाे ।




प्रतिक्रिया