काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्सले वेस्ट इन्डिजका स्टार अलराउन्डर आन्द्रे रसेललाई टोलीमा अनुबन्ध गरेको छ।
टी–२० क्रिकेटमा विस्फोटक ब्याटिङ र प्रभावकारी बलिङका लागि परिचित रसेलको आगमनसँगै विराटनगरको टोली थप बलियो बनेको छ। रसेलको अनुभव र खेल क्षमताले टोलीको प्रदर्शनमा महत्वपूर्ण प्रभाव पार्ने विश्वास विराटनगर किंग्सले व्यक्त गरेको छ।
रसेल सन् २०१२ र २०१६ मा टी–२० विश्वकप जित्ने वेस्ट इन्डिज टोलीका सदस्य हुन्। उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्ससहित विश्वका विभिन्न फ्रेन्चाइज प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरिसकेका छन्।
विराटनगरले रसेलको अन्तर्राष्ट्रिय अनुभवबाट टोलीलाई फाइदा पुग्ने र एनपीएलको उपाधि जित्ने अभियान थप मजबुत हुने जनाएको छ।
टोलीमा आबद्ध भएपछि रसेलले पनि नेपाल आएर नेपाली समर्थकमाझ खेल्न उत्साहित रहेको बताएका छन्। उनले विराटनगरलाई उपाधि दिलाउन आफ्नो तर्फबाट उत्कृष्ट योगदान गर्ने लक्ष्य रहेको बताएका छन्।
रसेलले ५९४ टी-२० खेलमा ९ हजार ६ सय ६२ रन बनाएका छन् । उनको ब्याटिङ स्ट्राइक रेट १६७.४५ छ भने सर्वाधिक स्कोर १२१ रन होल। उनले ७८५ छक्का प्रहार गरेका छन् ।


प्रतिक्रिया