एक सातामा ट्रम्पका चार कदम : जसले युक्रेनलाई संकटमा धकेल्यो, पुटिनलाई फाइदै फाइदा दिलायो !

एक सातामा ट्रम्पका चार कदम : जसले युक्रेनलाई संकटमा धकेल्यो, पुटिनलाई फाइदै फाइदा दिलायो !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को/वासिङ्टन- रूससँग करिब ५ वर्षदेखि युद्ध लडिरहेको युक्रेनसामु अब नयाँ सङ्कट पैदा भएको छ।

अमेरिकी हतियार र गुप्तचर सूचनाको भरमा युक्रेनी सेना रुसी आक्रमणको सामना गरिरहेको छ। तर, अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पक्षमा उभिएको देखिन्छ।

ट्रम्पले एक साताभित्रै यस्ता चार कदम चाले, जसले युक्रेनका कठिनाइ बढाएका छन्। अब प्रश्न उठ्छ- यदि ट्रम्पले युक्रेनलाई सैन्य सहायता र गुप्तचर सूचना दिन बन्द गरे युक्रेनी सेनाको अवस्था के होला ?

अमेरिकी सहयोगबिना युक्रेनले रूसको सामना गर्न सक्ला ? अनि ट्रम्पको बदलिएको रुखबाट पुटिनले कति फाइदा उठाउन सक्छन् ?

डिजेलको मूल्य बढ्नुमा रूस–युक्रेन युद्ध जिम्मेवार

ट्रम्पले रूस–युक्रेन युद्धलाई अमेरिकामा डिजेलको मूल्य बढ्नुको कारण बताए। त्यसपछि उनले रुसी डिजेलको बिक्रीमा लगाइएका प्रतिबन्धमा अस्थायी छुट दिए। यसले इन्धनको मूल्य घटाउन मद्दत गर्ने उनको भनाइ थियो।

यो निर्णय महत्त्वपूर्ण छ, किनकि रूसले तेल र ग्यासको बिक्रीबाट ठूलो आम्दानी गर्छ। यही आम्दानीले उसलाई युद्धको खर्च जुटाउन पनि मद्दत गर्छ। रुसी इन्धनको बिक्रीमा छुट दिँदा मस्कोलाई आर्थिक फाइदा हुन सक्छ।

जेलेन्स्कीलाई भने– नयाँ राष्ट्रपति छान

भोलिपल्ट ट्रम्पले सीधै जेलेन्स्कीको नेतृत्वमाथि प्रश्न उठाए। उनले रूससँग सम्झौता गरेर युद्ध अन्त्य गर्न सक्ने नयाँ राष्ट्रपति युक्रेनले छान्नुपर्ने बताए।

ट्रम्पले जेलन्स्कीसँग युद्ध अन्त्य गर्ने धेरै अवसर रहेको बताउँदै तर उनले ती अवसरको उपयोग नगरेको निष्कर्ष निकाले। युक्रेनी राष्ट्रपतिले रूससँग सम्झौता गर्ने दिशामा अघि बढ्नुपर्ने उनको भनाइ थियो।

जेलेन्स्कीसँग कुरा नगरी युद्धविराम

तेस्रो दिन ट्रम्पले रूस–युक्रेन युद्धमा ऊर्जा पूर्वाधारमाथिका आक्रमण रोक्न युद्धविराम घोषणा गरे। ऊर्जा पूर्वाधारमा विद्युत् केन्द्र, तेल प्रशोधन केन्द्र र इन्धनसँग सम्बन्धित अन्य महत्त्वपूर्ण संरचना पर्छन्।

रूस र युक्रेन दुवैले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण गर्दै आएका छन्। यस्ता आक्रमणले विद्युत् आपूर्ति, इन्धनको उपलब्धता र सैन्य अभियानमा असर पार्छन्।

तर ट्रम्पको घोषणापछि विवाद भयो। जेलेन्स्कीले आफूलाई यस सम्झौताबारे पहिल्यै जानकारी नभएको बताए। रूसले पनि युक्रेनमाथि यस्ता आक्रमण बन्द गरेमा मात्र युक्रेनले रुसी ऊर्जा पूर्वाधारमाथिका आक्रमण रोक्ने उनले स्पष्ट पारे।

स्टारलिङ्कको गति घटाइयो

युक्रेनले तीव्र गतिका ड्रोन उडाउन र रूसभित्र आक्रमण गर्न प्रयोग गरिरहेको इन्टरनेटको गतिमा अचानक सीमा लगाइयो। यसअघि ती ड्रोनले प्रतिघण्टा २०० किलोमिटरको गतिमा आक्रमण गर्थे।

सीमा लगाएपछि तिनको गति प्रतिघण्टा १६० किलोमिटरमा झर्‍यो। कुनै ड्रोन योभन्दा छिटो उड्न खोज्दा त्यसमा रहेको इन्टरनेट सिग्नल काटिएर खस्न थाल्थे।

जेलेन्स्कीले यसका लागि मस्कलाई जिम्मेवार ठहर्‍याए। पछि मस्कले आफू यसमा संलग्न नभएको भन्दै यो काम अमेरिकी सरकारले गरिरहेको बताए।

अमेरिकी सहयोग रोकिए युक्रेनलाई के असर पर्ला?

मिसाइल आक्रमणको पूर्वचेतावनी पाउन कठिनाइ : अमेरिकी गुप्तचर सूचनाले युक्रेनलाई रुसी मिसाइल आक्रमणबारे पहिल्यै सचेत गराउन मद्दत गर्छ।

यसले सैनिक र सर्वसाधारणलाई सुरक्षित स्थानमा पुग्ने समय दिन्छ। अमेरिकी सूचना बन्द भए यो व्यवस्था कमजोर हुन सक्छ।

प्याट्रियट क्षेप्यास्त्र अभाव : युक्रेनले रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसाल्न प्याट्रियट क्षेप्यास्त्र प्रयोग गर्छ। अमेरिकाले यसको आपूर्ति रोक्यो भने युक्रेनी सहर र सैन्य अखडाको सुरक्षा गर्न झन् कठिन हुन सक्छ।

सैन्य अभियानमा असर : अमेरिकी सञ्चार प्रविधिमा अवरोध आए ड्रोनबाट निगरानी र आक्रमण गर्न, युद्धमैदानमा सैनिकको गतिविधि हेर्न र आक्रमणको योजना बनाउन कठिन हुनेछ।

रूसमाथि दबाब दिने रणनीति कमजोर : युक्रेनले रुसी तेल प्रशोधन केन्द्र र ऊर्जा पूर्वाधारमा आक्रमण गरेर रूसको आम्दानी र युद्ध क्षमता कमजोर पार्ने प्रयास गर्छ। अमेरिकाले यस्ता आक्रमणको विरोध गर्दै रुसी इन्धनको बिक्रीमा छुट दियो भने युक्रेनको रणनीतिमाथि दबाब बढ्न सक्छ।

यद्यपि, अमेरिकी सहयोग बन्द हुँदैमा युक्रेनले युद्ध हार्छ भन्ने होइन। युक्रेनले आफ्नै देशमा हतियार उत्पादन बढाएको छ ।

युरोपेली देशहरूले पनि उसलाई सैन्य सहायता दिइरहेका छन्। तर अमेरिकी गुप्तचर सूचना र केही विशेष हतियारको पूर्ण विकल्प तयार पार्न सजिलो हुने छैन।

ट्रम्पका निर्णयले रूसलाई फाइदा

रूसका लागि सबैभन्दा ठूलो फाइदा युक्रेन र अमेरिकाबीचको मतभेद बढ्दा किभमाथि दबाब बढ्नु हो। युक्रेनले कम गुप्तचर सूचना र हतियार पाए रुसी आक्रमणको सामना गर्न उसलाई कठिन हुनेछ।

रुसी इन्धनको बिक्रीमा छुट दिँदा रूसलाई आर्थिक फाइदा पनि हुन सक्छ। त्यस्तै, ऊर्जा पूर्वाधारमाथिका आक्रमण रोक्न दिइने दबाबले रूसको युद्ध क्षमतामा चोट पुर्‍याउने युक्रेनको रणनीति कमजोर बनाउन सक्छ।

ट्रम्पले किन छाडे जेलेन्स्कीको साथ

युद्ध अन्त्य गर्न युक्रेनमाथि दबाब : ट्रम्प रूस र युक्रेनबीच छिट्टै सम्झौता होस् भन्ने चाहन्छन्। त्यसका लागि उनले जेलेन्स्कीलाई छुट दिन भनिरहेका छन्।

रूससँग सम्बन्ध सुधार्ने प्रयास : ट्रम्प रूससँग वार्ता र आर्थिक सम्बन्ध अघि बढाउन चाहन्छन्। यसबाट युक्रेनले पाउने अमेरिकी सहयोगमा असर पर्न सक्ने आशङ्का छ।

तेलको मूल्य घटाउने : युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमा गरेको आक्रमणबाट असन्तुष्ट ट्रम्पले ती आक्रमणले डिजेलको मूल्य बढाइरहेको बताएका छन्। रूसबाट डिजेलको आपूर्ति बढाएर मूल्य घटाउने उनको चाहना छ।

पुटिनसँग सम्झौता प्रयास : ट्रम्पले रूससँग डिजेलको कारोबार गर्न अनुमति दिने र जेलेन्स्कीलाई आक्रमण रोक्न दबाब दिने जस्ता कदम चालेका छन्। यसबाट रूसलाई आर्थिक फाइदा हुन सक्छ भने युक्रेनको अवस्था कमजोर हुने आशङ्का छ।