देउवालाई प्रधानमन्त्री मान्ने निष्कर्षमा पुगिसकेका छैनौंः प्रवक्ता श्रेष्ठ

देउवालाई प्रधानमन्त्री मान्ने निष्कर्षमा पुगिसकेका छैनौंः प्रवक्ता श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपाको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटीको बैठकले बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध तय भएका पार्टीका संघर्षका सबै कार्यक्रमहरू रद्द गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरअघि सम्पन्न बैठकले प्रतिनिधिसभा पुनर्स्थापित गर्ने सर्वोच्च अदालतको निर्णय ‘ऐतिहासिक’ भएको ठहर गर्दै आगामी दिनका लागि तय भएका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु रद्ध गर्ने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री केपी ओली समूहमा रहेका नेताहरूलाई आफूहरूतिर आउन आह्वान गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराए । साथै उनले संसद पुनस्र्थापना भएको सन्दर्भमा मिलेर जान नेपाली कांग्रेसलाई प्रस्ताव गरिएको समेत बताए ।

‘प्रतिगमनका विरुद्ध कांग्रेससँग संयुक्त आन्दोलन गर्न चाहन्थ्यौं, त्यो सम्भव भएन । अहिले प्रतिनिधि सभा पुनस्र्थापना भइसकेको स्थितिमा कसरी अगाडि बढ्ने भन्नेबारे अध्यक्षद्वयले कांग्रेस सभापतिसँग छलफल गर्नुभएको छ,’ उनले भने, ‘राजनीतिक स्थिरताका लागि फेरि मिलेर जाऊँ भनिएको छ । तर देउवालाई प्रधानमन्त्री मान्ने या कसलाई भन्ने विषयमा हामी कुनै निर्णयमा पुगेका छैनौं ।’

स्थायी कमिटी बैठकअघि प्रचण्ड र नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । सो भेटबारे प्रचण्डले बैठकमा ब्रिफिङ गरेका थिए ।