२ महिनाका लागि रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णय

२ महिनाका लागि रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि लगाइएका आर्थिक प्रतिबन्ध तथा शुल्क कार्यान्वयनमा ६० दिन रोक लगाएका छन् । विश्व अर्थतन्त्रमा प्रतिबन्ध र शुल्कको प्रभाव अध्ययन गर्न यस्तो निर्णय गरिएको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बताएका हुन्।

रुबियोका अनुसार इरानमाथिको युद्ध तथा यमनका हुथी विद्रोही समूहका आक्रमणलगायतका घटनाले विश्व बजारमा तेल र डिजेलको मूल्य बढाएको छ। बढ्दो इन्धन मूल्यले समग्र अर्थतन्त्रमा असर पारिरहेकाले रुसमाथिका प्रतिबन्ध तथा शुल्कको प्रभाव पुनरावलोकन आवश्यक रहेको उनको भनाइ छ।

अमेरिकी कङ्ग्रेसले गत महिना पारित गरेको कानूनले रुसी अधिकारी, धनाढ्य तथा वित्तीय संस्थामाथि प्रतिबन्ध लगाउनुका साथै रुसी तेल तथा ग्यासका प्रमुख खरिदकर्तामाथि कारबाही गर्ने अधिकार राष्ट्रपतिलाई दिएको थियो। युक्रेनविरुद्धको युद्धका लागि रुसको आम्दानी रोक्ने उद्देश्यले ल्याइएको उक्त कानून कार्यान्वयन हुनुभन्दा दुई दिनअघि ट्रम्पले कार्यकारी आदेशमार्फत ६० दिनको छुट दिएका हुन् ।

ट्रम्पको निर्णयप्रति आफ्नै दलका सांसदले समेत असन्तुष्टि जनाएका छन्। रिपब्लिकन सिनेटर थोम टिलिसले निर्णयलाई गैरजिम्मेवार भन्दै ऊर्जा मूल्य घटाउन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सहयोग गर्नुको सट्टा इरानको समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ। अर्का रिपब्लिकन सिनेटर टेड क्रुजले पनि निर्णयलाई गल्तीको संज्ञा दिएका छन् ।

रुबियोले भने रुसी डिजेल विश्व बजारमा विभिन्न माध्यमबाट पुग्ने भएकाले त्यसको केही हिस्सा अमेरिकाले प्राप्त गर्नु व्यावहारिक हुने तर्क गरे। सडक निर्माण, कृषि तथा निर्माण क्षेत्रमा डिजेल महत्वपूर्ण इन्धनका रूपमा प्रयोग हुन्छ।

इरानसँगको युद्धका कारण बढेको इन्धन मूल्य आगामी महिना हुने मध्यावधि निर्वाचनअघि अमेरिकी मतदाताका लागि प्रमुख चिन्ताको विषय बनेको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले भने ट्रम्पको निर्णयले पुटिनलाई फाइदा पुग्ने र अमेरिकाले रुसमाथिका थप प्रतिबन्धसमेत हटाउन सक्ने चिन्ता व्यक्त गरेका छन् । उनले प्रतिबन्ध कार्यान्वयन रोक्ने निर्णयले पुटिनलाई पुरस्कृत गरेको टिप्पणी गरेका छन् ।