काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।
बिहीबार बिहान अध्यक्ष प्रचण्डलाई भेट्न उपाध्यक्ष गौतम खुमलटार पुगेका थिए । संसद पुनःस्थापनापछि उपाध्यक्ष गौतम प्रचण्डलाई एकता प्रस्ताव राख्न गएको उनका प्रेस संयोजक विश्वमणी सुवेदीले काठमाण्डुपाटीलाई बताए ।
उनले संसद पुनःस्थापना भइसकेकाले पार्टी एक भएर जानुपर्ने बताएका थिए । उपाध्यक्ष गौतमले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य गरेर अगाडि बढ्न प्रचण्डलाई सुझाव दिएका छन् । उनले सचिवालय बैठक बोलाउन पनि प्रचण्डलाई आग्रह गरेका छन् ।
उनले पार्टी एकता कायम राख्न प्रधानमन्त्री ओलीलाई सम्मानजनक बिदाई गर्न पनि प्रचण्डलाई सुझाव दिएका छन् । अध्यक्ष प्रचण्डले अहिलेको अवस्थामा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीसँग एकता सम्भव नभएको जवाफ दिएका थिए ।
बुधबार एक विज्ञप्ति जारी गर्दै उपाध्यक्ष गौतमले सचिवालय बैठक बोलाउन अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डसँग माग गरेका थिए ।
‘ओलीले प्रधानमन्त्री पदबाट ढिलानगरी तुरुन्त राजीनामा दिनु पर्छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष केपी ओली र प्रचण्डसंग तुरुन्तै सचिवालय बैठक धुम्वाराहीस्थित केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु’, उनले भनेका छन् ।




प्रतिक्रिया