काठमाण्डु– सर्वोच्च अदालतले संसद पुर्नस्थापना गर्ने फैसला गरेसंगै भारत र चीनका राजदूतको सक्रियता बढेको छ । स्रोतका अनुसार बिहीबार अपरान्ह फरक–फरक समयमा चिनियां राजदूत होउ यान्छी र भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग भेटवार्ता गरी पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गरेका छन् ।
भेटलाई दुवै पक्षले गोप्य राखेका छन् । नेपालमा सरकार परिवर्तन हुन लागेका बेला दुई छिमेकी मुलुकका दूतहरूले देउवालाई भेट्नु अर्थपूर्ण छ।
चिनियां राजदूतले प्रधानमन्त्रीका केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल र गृहमन्त्री रामबहादुर थापासंग पनि भेटवार्ता गरेको स्रोतको दावी छ । उनले प्रधानमन्त्री ओलीसंग आजै भेट्नको लागी समय लिएको बुझिएको छ । चीनले संसद विघठन र पुर्नस्थापनाबारे अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेको छैन भने भारतले यसलाई नेपालको आन्तरिक मामला भएको बताएको छ ।
बुधवार नेकपाका अध्यक्ष प्रचण्ड र माधव नेपालले कांग्रेस सभापति देउवासंग भेटेर सत्ता समिकरणको लागी प्रस्ताव गरेका थिए । त्यसपछि देउवा निवासमा बिहीबार पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बसेको थियो ।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि कांग्रेस सभापति देउवालाई नेकपाको दुबै पक्षले सहयोग माग्ने क्रम जारी छ । देउवाको भने प्रधानमन्त्री ओलीसंग अघोषित समिकरण रहेको बताइन्छ ।




प्रतिक्रिया