काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेसँग सहकार्य गरेर सरकारमा सहभागी हुन लागेको भन्ने कुरा भ्रामक रहेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै यादवले जसपा नेपालले वर्तमान अवस्थामा एमालेसँग सहकार्य गरेर सरकारमा सहभागी हुनेबारे कुनै निर्णय, नीति वा सहमति नभएको स्पष्ट पारे।
उनले भनेका छन्,‘जनता समाजवादी पार्टी , नेपाल वर्तमान अवस्थामा नेकपा एमालेसँग सहकार्य गरी सरकारमा सहभागी हुने सम्बन्धमा न त कुनै निर्णय नै गरेको छ नत कुनै नीति नै लिएको न कसैसँग कुनै समझदारी नै गरेको छ। तत्काल यो सम्भव पनि नरहेको अवस्था छ।’
फरक प्रसङ्गमा खिचिएको फोटोलाई सामाजिक सञ्जालमा प्रयोग गरी भ्रम फैलाइएको भन्दै उनले पूर्वाग्रहपूर्ण प्रचार नगर्न आग्रह गरे।
उनले भने,‘बेग्लै प्रसङ्गमा खिचिएको फोटो राखी फेसबुक तथा सामाजिक सञ्जाललाई केही व्यक्तिहरूले दुरुपयोग गरी गलत , भ्रमात्मक दुष्प्रचार गरेको देख्दा अत्यन्त आश्चर्य र दुख पनि लगेको छ। कुनै सत्यता नै नरहेको यस्ता गलत मनसायले फैलाएका कपोलकल्पित , भ्रमात्मक र पूर्वाग्रहपूर्ण तथा झुटा प्रचार प्रति विश्वास न गर्नुहुन अनुरोध छ।’
अध्यक्ष यादवले जसपा नेपालले हालसम्म सरकार बनाउन कुनै दाबी नगरेको, कसैसँग समर्थन नमागेको र कुनै पार्टीलाई समर्थन दिने वा नदिनेबारे कुनै किसिमको सम्झौतासमेत नगरेको प्रस्ट पारे। उनले तत्काल एमालेसँग मिलेर सरकारमा जाने कुनै सम्भावना वा औचित्य नरहेको पनि बताए।


प्रतिक्रिया