हामी संवेदनशील मोडमा छौंः नारायणकाजी श्रेष्ठ

हामी संवेदनशील मोडमा छौंः नारायणकाजी श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रचण्ड–माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरु अहिले गम्भीर मोडमा रहेको बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत प्रवक्ता श्रेष्ठले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलापछि अहिले आफुहरु संसदको अधिवेशन, सरकार संविधानको कार्यान्वयन, समृद्धि ,समाजवादको आधार निर्माण र नेपाली कम्युनिस्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्‍ने गम्भीर छलफलको संवेदनशील मोडमा रहेको बताएका छन् ।

उनले पार्टीको आधिकारिक धारणा पार्टीका आधिकारिक नेताहरुबाट बुझ्न आग्रह गरेका छन् । प्रवक्ता श्रेष्ठले सञ्चारमाध्यमहरुमा आएका विभिन्न खाले समाचारहरु पार्टीको आधिकारिक व्यक्तिबाट नआएको भन्दै आधिकारिक व्यक्तिसँग बुझेर मात्रै लेख्न आग्रह गरेका हुन् ।

‘सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलापछि अहिले हामी संसदको अधिवेशन ,सरकार ,संविधानको कार्यान्वयन, समृध्दि ,समाजवादको आधार निर्माण र नेपाली कम्युनिस्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्‍ने गम्भीर छलफलको संवेदनशील मोडमा छौं’, उनले भनेका छन्, ‘सञ्चार माध्यमका आ–आफ्ना विश्लेषणलाई यथोचित सम्मान गरौं । त्यसमा सकारात्मक सन्देश वा शिक्षाहरू छन् भने त्यसलाई ग्रहण गरौं । हामी उहाँहरूको दृष्टिकोण ,धारणा र अधिकारबारे अरु केही भन्‍न सक्दैनौँ र उचित पनि हुँदैन । तर पार्टीको आधिकारिक धारणा र नेताहरूको विचार सञ्चार माध्यमको आधारमा होइन, नेताहरूकै मुख वा आधिकारिक ठाँउबाट बुझौं ।’