काठमाण्डुमा सांसदका दुःख : तलबले पार्टीलाई लेबी र कोठा भाडा तिर्नै मुस्किल !

काठमाण्डुमा सांसदका दुःख : तलबले पार्टीलाई लेबी र कोठा भाडा तिर्नै मुस्किल !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा विघटन भएको अवस्थामा सांसदहरुलाई तलब भत्ता दिने विषय विवादमा तानिएको छ ।

गत पुस ५ गतेदेखि विघटित प्रनितिधिसभा गत मंगलबारबाट फुकवा भएको छ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले प्रतिनिधिसभा विघटन गरेपछि संसदका कामकारबाही ठप्प थिए ।

संसद नै बन्द भएको अवस्थामा जनताका प्रतिनिधिले राज्य कोषबाट अवैध रुपमा तलब भत्ता लिएको भन्दै चौतर्फी विरोध भएको छ ।

यता सांसदहरुले भने तलबभत्ता लिएको विषयमा विरोध गरेपछि असन्तुष्टी जनाएका छन् । कांग्रेस सांसद रंगमती शाही जनताको सेवाका लागि जीवन नै दाउमा राखेर होमिएका सांसदले तलब लिएको विरोध गर्न नहुने बताउँछिन् ।

हुम्लाबाट संसदमा प्रतिनिधित्व गर्ने सांसद शाही प्रधानमन्त्री ओलीले गरेको गल्तीको सजाय अन्य जनप्रतिनिधिहरुलाई दिन नमिल्ने तर्क गर्छिन् । उनले सबै सांसदहरुको जीवन शैली एकैनाशको नभएको बताउँदै काठमाण्डुको महँगीमा टिक्न गाह्रो हुने दुःखेसो पोखिन् ।

जनताको सेवा गर्छु भनेर आएका सांसदहरु साँच्चिकै समस्यामा रहेको बताउँदै ५८/६० हजार रुपैयाँ तलबमा आँखा लगाउने नमिल्ने उनको तर्क छ । सांसद शाहीले सरकारले गरेका अनियमितता र भ्रष्टाचारका ठूला काण्डबारे खरबदारी गर्न जनतालाई आग्रह गरिन् । कोठा भाडामै ३०/३५ हजार रुपैयाँ सकिने भन्दै सांसद शाहीले विभिन्न कार्यक्रम र कार्यकर्तासँग उठबस गर्न महिना दिनकाे तलबले समस्या हुने बताइन् ।

‘कोरोनाको समयमा पनि हामीले थोरबहुत सहयोग गरेका हौं । दशैंमा पनि भत्ता आएकोमा फिर्ता गर्‍याैं । अहिले पनि विवाद आएको छ । हामी पनि बाहिरबाट कोठा भाडामा बस्दै आएका छौं । काठमाण्डुको महँगी यस्तै छ’, उनले भनिन्, ‘पार्टीलाई लेबी पनि बुझाउनैपर्छ । सांसदलाई मात्र आँखा लाउने ? हामीलाई पारिश्रमिक बाहेक अरु के नै हुन्छ र ? सरकारले यत्रो भ्रष्टाचार गरेको छ । त्यो जनताले देख्दैन । मन्त्रीहरुले जे गर्न पनि छुट हुने तर, हामीले त्यही तलब पनि नखाए काठमाण्डुमा कसरी बाँच्ने त ? हामी पेन्डिङ्गमा थियौं । त्यो मुद्दा टुंगो लागेको छ । एक जनाले गल्ती गर्दा हामी सबै मान्यहरुले सजाय भोग्न मिल्छ ?’

त्यस्तै कोरोना भाइरसविरुद्धको खोप किन्न सरकारले दातासँग गुहार मागेको अवस्थामा सांसदहरुले बैठक नै नबसी तलब लिन कतिको सुहाउँछ ? भन्ने प्रश्नमा सांसदहरुले सरकारले जनताका लागि भ्याक्सिन नै किन्न खर्च गरे आफूहरु सहयोग गर्न तयार रहेको बताए ।

नेकपा सांसद रेखा शर्माले पार्टी र संसद सचिवालयले नै निर्णय गरेर कोरोनाको भ्याक्सिन किन्नका लागि सांसदहरुको तलब प्रयोग गर्नुपर्ने बताइन् । व्यक्तिले निर्णय गरेर सम्भव नभएको बताउँदै सांसद शर्मा पार्टी र सम्बन्धित निकायले यसबारे सोच्नुपर्ने बताउँछिन् ।

‘संसद विघटन भएको अवस्था छैन् । सर्वोच्चले संसद पुनःस्थापना गरिसकेको छ । निलम्बनको अवस्था थियो । दल र संसद सचिवालयले संस्थागत निर्णय गरेर अगाडि बढ्दा राम्रो हुन्छ’, उनले भनिन् ।

नेकपाकै अर्का नेता हरिबोल गजुरेलले संसद विघटन हुँदा निलम्बन भएकाले तलब भत्ता लिने विषय सही भएको प्रतिक्रिया दिए ।