प्रचण्डको अभिव्यक्ति खेदजनक, विदेशीको इसारामा १ वर्षदेखि जनताको अपमान भइरहेको प्रस्ट भयोः शान्ता चौधरी

प्रचण्डको अभिव्यक्ति खेदजनक, विदेशीको इसारामा १ वर्षदेखि जनताको अपमान भइरहेको प्रस्ट भयोः शान्ता चौधरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा ओली समूहकी नेतृ शान्ता चौधरीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको भारत सुहाउँदो सरकार बनाउनुपर्छ भन्ने अभिव्यक्तिको आपत्ती जनाएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् नेतृ चौधरीले आन्दोलनको बेला भारतीय हस्तक्षेपको आह्वान गर्नु र अहिले भारत सुहाउँदो सरकार बनाउनु पर्छ भन्ने कुरा आउनु खेद जनक भएको भन्दै आपत्ती जनाएकी हुन् ।

शुक्रवार प्राइम टाइम्स टेलिभिजनसँग कुरा गर्दै प्रचण्डले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सत्ता समीकरण गर्दा भारत र चीन दुवैका लागि फाइदाजनक हुने बताएका थिए ।

‘सत्य आफ्नै मुखबाट उजागर हुन्छ भन्थे हो रहेछ । भारतीय सुगमताको लागि कांग्रेस, प्रचण्ड गुट र जसपा मिलेर गठबन्धन गरि सरकार बनाउनु पर्छ भन्ने अध्यक्ष कमरेड प्रचण्डको भनाइ सुनेर मर्माहत भैयो । नेपाली जनता ठूलो त्याग गरेर देशमा स्वाभिमान, समृद्धि र स्थिरता कायम हुन्छ भन्ने हेतुले ठूलो राजनीतिक परिवर्तनको बाहक बनेका थिए । त्यही उद्देश्य कार्यान्वयन होस् भनेर नेकपालाइ झन्डै दुई तिहाइ मत दिएर जिताएका हुन् । विदेशी इसारामा नेपाली जनताको यो भावनाको अपमान हुने गरी विगत एक वर्ष देखिका अनेक हर्कत भएका रहेछन् भन्ने अब प्रस्ट भयो,’ चौधरीले लेखेकी छिन् ।

‘देशको सार्वभौमिकता र जनताको स्वाभिमानमाथि खेल खेल्नेहरुलाई बेलैमा चिन्न, अध्यक्ष प्रचण्डले हामी केहिमा रहेको भ्रम चिरिदिनु भयो । अस्ति आन्दोलनको बेला भारतीय हस्तक्षेपको आह्वान गर्नु अनि अहिले भारत सुहाउँदो सरकार बनाउनुपर्छ भन्ने कुरा आउनु खेदजनक छन् । राष्ट्रप्रेमि नेपालीहरु यस्ता हर्कतबाट जोगिएर अघि बढ्नु नै अहिलेको आवश्यकता हो,’ उनले भनेकी छन् ।