काठमाण्डु – कोशी नदीको कटानले घरखेत गुमाएका परिवारको विस्थापन, आर्थिक सङ्घर्ष र आपसी सहयोगको कथा समेटिएको वेब सिरिज ‘कोशीका कथाहरू’ शनिबार युट्युबमा सार्वजनिक भएको छ ।
सुहाङ कुलुङ वालाखामको निर्देशनमा तयार भएको सिरिज हाम्रो पिपलगाछी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । नवराज विष्टको कथामा आधारित सिरिजले कोशी कटानबाट प्रभावित परिवारको विगत र विस्थापनपछिको जीवनलाई प्रस्तुत गरेको छ ।
सिरिजमा २०३५/३६ सालदेखि सुरु भएको कोशी कटान २०४४ सालसम्म पुग्दा विनाशकारी बनेको प्रसङ्ग समेटिएको छ । बाढीले बस्ती, घर र खेतीयोग्य जमिन बगाउँदा स्थानीयले अन्नपात र पशुचौपायासमेत गुमाउनुपरेको थियो । नदीमा डुङ्गा पल्टिँदा मानवीय क्षतिसमेत भएको स्थानीयका अनुभव कथामा समेटिएका छन् ।
घरखेत गुमाएर विस्थापित बनेका परिवारको सङ्घर्ष अहिले पनि जारी छ । चाडपर्वका बेला परिवारलाई खुसी राख्ने चाहना भए पनि दैनिक ज्यालादारी गरेर गुजारा चलाउनुपर्ने बाध्यता कथामा देखाइएको छ । आर्थिक अभावबीच पनि उनीहरू एकअर्काको सुखदुःखमा साथ दिँदै आएका छन् ।
वेब सिरिजमा बाबु र छोरीबीचको संवादमार्फत कोशी नदीसँग स्थानीयको सम्बन्ध प्रस्तुत गरिएको छ । स्थानीयका लागि दाउरा र जीविकोपार्जनको स्रोत बनेको यही नदीले घरखेतसमेत बगाउने गरेको विडम्बना कथामा देखाइएको छ ।
‘डुब्ने बेलाको घाम, अब बाँकी दिन त खुसी हुनुपर्छ’ भन्ने संवादले दुःखका बीच पनि खुसी भएर बाँच्ने पात्रहरूको चाहना व्यक्त गर्छ ।
सुहाङ कुलुङ वालाखामको निर्देशनसँगै सम्पादनमा तयार भएको सिरिजमा अर्जुन श्रेष्ठ, सबिना बानिया र हिमाल चाम्लिङ राईलगायतले अभिनय गरेका छन् । निर्देशक वालाखामले ‘कोशीका कथाहरू’ मा आधारित वेब सिरिजलाई निरन्तर सार्वजनिक गरिने जानकारी दिएका छन् ।


प्रतिक्रिया