काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा बादलले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपासँगको वार्ता सकारात्मक दिशामा अगाडि बढेको बताएका छन् ।
बुधबार बिहान विप्लव नेतृत्वको नेकपासँगको वार्तापछि गृहमन्त्री बादलले पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको बताएका हुन् ।
‘मेरो नेतृत्वमा रहेको नेपाल सरकारको वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको प्रकाण्डको नेतृत्वमा रहेको वार्ता टोलीबीच आज भएको पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख छ’, उनले भने ।
सरकारी वार्ता टोलीका संयोजकसमेत रहेका बादलले अन्य सैद्धान्तिक विषयहरुमा सहमति रहेको र छिट्टै नै सुखदे परिणाम आउने विश्वास व्यक्त गरेका छन् ।
‘धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक छ, केही विषयमा छलफल जारी छ । छिट्टै सुखद परिणाम आउने अपेक्षा छ,’ उनले भने ।
बुधबार बिहान बालुवाटारमा बसेको पहिलो चरणको वार्ता सकारात्मक रहेको प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए ।
सरकारले मंगलबार गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । सदस्यमा प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई छन् भने विप्लव नेतृत्वको नेकपाका वार्ता टोली संयोजक खड्गवहादुर विश्वकर्मा र दीपक चलाउने रहेका छन् ।
वार्तामा विप्लव समूहले आफूमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न र पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई बिना सर्त रिहाइ गर्न माग गरेको छ ।




प्रतिक्रिया